६ कार्तिक, काठमाण्डौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता नगरेको देउवाको सचिवालयले जनाएको छ ।
‘रअ’का प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली हिजो (बुधबार) कूटनीतिक उडानबाट नेपाल आएका थिए । उनले नेताहरुलाई भेटेको चर्चा चलेपछि पूर्व प्रधानमन्त्री देउवका निजी स्वकीय सचिव भानु देउवाले ‘रअ’ प्रमुखसँग कुनै भेटवार्ता नभएको प्रष्ट पार्नुभएको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको प्रष्ट पार्नुभएको छ ।
‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने भेटेको पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले वक्तव्य जारी गरेर ‘रअ’ प्रमुख संग प्रधानमन्त्री ओलीले हिजो शिष्टाचार भेट गर्नुभएको बताउनुभएको छ ।