६ कार्तिक, विराटनगर । नेपाल भारतको सीमा नाका दशगजा क्षेत्रमा एकजना नेपाली युवाको शव भेटिएको छ । मोरङको विराटनगर–१६ को दक्षिण गेटदेखि करिब एक सय मिटर दक्षिण भारतको जोगवनीको रेल्वे स्टेशन छेउमा २५ वर्षीय युवाको आज बिहान शव भेटिएको हो ।
उनी लागूऔषध सेवनकर्ता रहेको खुलासा भएको छ । मृतक युवा हिजो (बुधबार) जोगवनीमा लागूऔषध सेवन गर्न गएको बुझिएको छ । उनको नाम नखुले पनि इटहरी घर भएको प्रहरीले जनाएको छ ।
मृतक युवाको शरिरमा चोटपटक पनि लागेको छ । शरीरको पछाडि ढाडमा चोट लागेको कारण रगत बगेको छ । कुटपिट गरि हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । तराइबासी देखिने मृतक युवाको उचाइ करिव ५ फिट ४ इन्च रहेको छ । उनको दुवै हातमा ट्याटु खोपेका छन् भने दाइने कानमा टप लगाएका छन् ।
मृतकको सनाखत भइ नसकेको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक दिपक दाहालले जानकारी दिनुभयो । घटनास्थल भारतीय क्षेत्रमा पर्ने भएकोले भारतीय प्रहरीले अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।