४ कार्तिक, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाएको छ । यसअघि केन्द्रीय समितिको संख्या सात सय एक रहेकोमा विधान संशोधन गरेर आठ सय एक सदस्सीय बनाइएको हो ।
आज बसेको कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी सो संख्या थपेको कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले बताउनुभयो । विधान संशोधन प्रस्ताव सर्वसमितले पारित गरेको पनि उहाँको भनाइ छ । विधान संशोधन पारित भएसँगै अब केन्द्रीय समितिको संख्या आठ सय एक सदस्यीय हुने भएको उहाँले बताउनुभयो ।
बैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल बनेको थियो ।
त्यस्तै, अनुशासनसम्बन्धी प्रावधानमा पनि संशोधन भएको छ । अनुशासन उल्लघंन भएमा त्यसबारेमा संगठन विभागले पनि अनुसन्धान गर्ने प्रावधान विधानमा थपिएको जनाईएको छ ।
पार्टीको कारबाही प्रक्रियामा पनि केही खुकुलो बनाइएको छ । यसअघि पार्टीको हितविपरित काम गरेमा सिधै कारवाही गर्ने प्रावधान थियो भने अहिले सच्चिने मौका दिने प्रावधान राखिएको छ । त्यस्तै सदस्यतालगायतका केही विषयमा पनि संशोधन गरेको स्रोतले जनाएको छ ।