२ कार्तिक, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कार्तिक १५ गते देखि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । गएको भाद्र २६ को स्थायी कमिटी बैठकले निर्धारण गरेको बैठकको यो मिति अहिलेसम्म परिवर्तन नभएकाले आगामी कार्तिक १५ देखि बैठक सुरु हुनेमा केन्द्रीय सदस्यहरु ढुक्क छन् ।
प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्री केपी शर्म ओलीका प्रेस सल्लाहकार सूर्य थापा बैठकको मितिबारे अहिलेसम्म नयाँ निर्णय नभएको बताउनुहुन्छ ।
पार्टीभित्रको आन्तरिक द्धन्द हल गर्दै चैत्रमा एकताको महाधिवेशनको तयारी गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तर, अहिलेसम्म बैठकको प्राविधिक र राजनीतिक दुवै तयारी नभएको स्रोत बताउँछ । कोरोना संक्रमण उच्च दरमा बढिरहेकाले बैठकबारे केन्द्रीय सदस्यहरुमा अन्योल देखिएको छ ।
केन्द्रीय सदस्य गोमा देवकोटा, संक्रमण उच्च दरमा फैलिरहेकाले यसबारे नेतृत्वले सोच्नुपर्ने बताउँनुहुन्छ ।
तर, नेकपाको उच्च तहको निकाय सचिवालयमा अहिलेसम्म केन्द्रीय कमिटी बैठकबारे छलफलसमेत भएको छैन । केन्द्रीय कमिटी बैठक अगाडि टुंग्याउनुपर्ने एकता प्रक्रियाका बाँकी काम र मन्त्रिपरिषद् पुनर्गठनको विषय समेत नसुल्झिएकाले यसबारे छलफल नै नथालेको नेताहरु बताउँछन् ।
चैत्रमा महाधिवेशन गर्नलाई केन्द्रीय कमिटी बैठक निर्धारित समयमै बस्नुपर्ने पाण्डे बताउँनुहुन्छ । तर, बैठक बस्न सजिलो परिस्थिति नरहेको संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउँनुहुन्छ ।
केही नेताहरु भने संक्रमण दरमा ठूलै सुधार आए बैठक बस्न कठिनाइ नहुने बताउँछन् । त्यसका लागि ठूलो हल खोज्ने र दूरी कायम राखेर बैठक चलाउन सकिने उनीहरु बताउँछन् ।
स्थायी कमिटी बैठक बस्दा नै बालुवाटारमा पाँच सयको हाराहारीमा मानिसको भेला भएकाले केन्द्रीय कमिटी बैठक सजिलो नभएको स्थायी कमिटीका एक सदस्य बताउछन् ।
नेकपाको केन्द्रीय कमिटी बैठकमा ४३८ केन्द्रीय सदस्य र आठ जना स्थायी आमन्त्रित गरी ४४६ जना सहभागी हुनेछन् ।