२८ असोज, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा छिमेकी राष्ट्र चीनले नेपाली भूमि अतिक्रमण गरेको जिकिर गर्दै यस विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीसहितको टोलीले हुम्लाको लिमीमा दुई किलोमिटरसम्म सीमा अतिक्रमण गरेको निश्कर्ष निकाल्दै सरकारको मौनता दुखद, लज्जास्पद र आपत्तिजनक भएको बताएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको विषय भएको बताउनुभएको छ ।
कांग्रेसले सीमा अतिक्रमणको विषयमा तत्काल धारणा सार्वजनिक गर्न, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकारसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवाद मार्फत हल खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न माग गरेको छ ।
दुई किलोमिटर भूमि अतिक्रमण हुँदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रमुख जिल्ला अधिकारीलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छँदै ‘सिमा मिचिएको छैन’ भनी परराष्ट्र मन्त्रालय बोल्नु र सो टोली सीमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु लज्जास्पद र आपत्तिजनक विषय भएको कांग्रेसले बिज्ञप्ती मार्फत बताएको छ ।