१९ असोज, रुपन्देही । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलमाथि भौतिक आक्रमणको प्रयास भएको छ । हिजो साझ उहाँ सवार गाडीमा आक्रमण भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर काठमाडौंबाट भैरहवा हुँदै बुटवल आउने क्रममा राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि आक्रमण प्रयास भएको हो । पोखरेल सवार गाडीमाथि ढुंगामुढा भएको छ ।
ढुंगा प्रहार गर्ने काँग्रेस कार्यकर्ता रहेको जनाइएको छ ।
ढुंगा प्रहार भएपछि प्रहरीले हवाई फायर गरेको थियो । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ । घटनापछि उहाँलाई कडा सुरक्षा दिइएको छ ।
यस्तै ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले ९ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । नियन्त्रणमा लिएकाहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको उहाँले बताउनुभयो ।
उता, नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले आफ्नो पार्टीका ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जानकारी दिनुभएको छ ।
उहाँकाअनुसार कांग्रेस रुपन्देही जिल्ला समिति सदस्य तथा प्रदेशसभा सदस्यका उमेद्धवार विष्णु पोखरेल, नेविसंघ केन्द्रीय उपसभापति मुक्ति पौडेल, तिलोत्तमा कांग्रेस सभापति हरिलाल पाण्डे, तिलोत्तमा कांग्रेसका सचिव शिव गैरे, तरुण दलका प्रकाश गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका ज्ञानेन्द्रबहादुर कार्की पक्राउ परेका हुन् । प्रहरीले भने ९ जनालाई पक्राउ गरिएको जनाएको छ ।