१८ असोज, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्रदेश–५ को राजधानी दाङमा राख्ने निर्णयमाथि पुनर्विचार गर्न पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्ड समक्ष माग गर्नुभएको छ ।
आज दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा महासचिव पौडेलले अध्यक्षद्वयसँग दाङमा राजधानी राख्ने निर्णयबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको हो । महासचिव पौडेलले ओली र प्रचण्डलाई यस्तो प्रस्ताव राख्दै गर्दा बालुवाटारमा प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल पनि उपस्थित हुनुहुन्थ्यो ।
आज दिउँसो बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेल, महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत उपस्थित हुनुहुन्थ्यो ।
सो भेटमा महासचिव विष्णु पौडेलले प्रदेश–५ को राजधानी बुटवलमै राखिनुपर्ने बताउँदै दाङमा राजधानी राख्ने निर्णय पुनर्विचार हुनुपर्ने माग गर्नुभएको स्रोतले बताएको छ । मुख्यमन्त्री पोखरेलले भने दाङमै राजधानी राखिने अडान राख्नुभएको थियो । स्थायी कमिटी सदस्य जनार्दन शर्माले भने पौडेल र पोखरेललाई सहमतिमा आउन आग्रह गर्नुभएको थियो ।
महासचिव पौडेलले बुटवलमै राजधानी रहनुपर्ने माग राखे पनि अध्यक्षद्वय ओली र प्रचण्डले दाङमै राजधानी राख्न सहमित जनाइसक्नुभएको छ ।
स्रोतका अनुसार सुरुमा मुख्यमन्त्री पोखरेलले राप्ती भ्यालीमा प्रदेशको राजधानी र लुम्बिनी नाम रहने गरी मान्यता प्रदान गर्न अध्यक्षलाई चिठी लेखेको र अध्यक्षद्वयले प्रदेशको राजधानी प्रदेशसभाले तोक्ने भन्दै राप्ती भ्याली र लुम्बिनीमा समर्थन रहेको सर्कुलर पठाउनुभएको थियो । सोहीअनुसार प्रदेश सरकारले निर्णय गरेर हाल यो प्रस्ताव प्रदेश सभामा पुगेको छ ।
नेकपा उच्च स्रोतका अनुसार नेकपाको नौँ सदस्यीय सचिवालयमा बुटवललाई स्थायी राजधानी बनाइनुपर्ने मागमा महासचिव विष्णु पौडेल एक्लै पर्नुभएको छ । अध्यक्षद्वयसँगै वामदेव गौतम पनि दाङकै पक्षमा उभिनुभएको छ । बर्दिया र प्युठान दुबै जिल्लाबाट दाङ पायक पर्ने भएकाले गौतम दाङकै पक्षमा उभिनुभएको हो ।
सचिवालयका बाँकी सदस्य रामबहादुर थापा बादल र ईश्वर पोखरेलले पनि साथ नदिएपछि बुटवललाई राजधानी बनाउने विषयमा सचिवालयभित्र महासचिव एक्लो बन्नुभएको छ ।
सचिवलायमा महासचिव पौडेल एक्लो परे पनि प्रदेशसभाका १४ जना नेकपा सांसदहरुले बुटवलमै प्रदेशको राजधानी रहनुपर्ने भन्दै असमहति जनाइसक्नुभएको छ । त्यसैगरी नेकपाको रुपन्देही जिल्ला कमिटीले संस्थागतरुपमै निर्णय गरेर दाङमा राजधानी सार्ने प्रस्तावको विरोध गरेको छ । केही स्थानीय तहहरुले पनि बुटवलमै राजधानी हुनुपर्ने माग गरेका छन् ।
आज बालुवाटारमा भएको छलफलमा प्रदेश–५ को राजधानी नयाँ ठाउँमा बनाउँदा भौतिक पूर्वाधारको अभाव हुने र अनावश्यक खर्च बढ्ने भन्दै पौडेलले फरकम मत व्यक्त गरेको एक नेताले जानकारी दिनुभयो ।