निषेधाज्ञा तोड्दै बुटवलमा प्रर्दशन जारी

निषेधाज्ञा तोड्दै बुटवलमा प्रर्दशन जारी

१८ असोज, रुपन्देही । बुटवलमा स्थानीय प्रशासनले चार दिनका लागि निषेधाज्ञा जारी गरेको छ । प्रदेश–५ को राजधानी दाङलाई बनाउने सरकारको प्रस्तावमा तिव्र असन्तुष्टि बढेपछि सम्भावित विरोध र दंगालाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरेको हो । तर, निषेधाज्ञा तोड्दै सर्वसाधारण, नागरिक समाज र उद्दोगी व्यवसायी प्रदर्शनमा उत्रिएका छन् । बुटवललाई प्रदेश–५ को राजधानी कायम गर्नुपर्ने माग गर्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

विरोधमा उत्रिएकाहरुले अर्काे चुनावमा मत नदिने सम्मको नारावाजी गरेका छन् । उनीहरुले विरोध प्रदर्शन गरेर कोणसभा समेत गरेका छन् । उनीहरुले कोरोना महामारीको बेलामा अन्यत्र राजधानी तोकेर राजनीतिक छलछाम गर्न खोजेको आरोप समेत लगाए ।

प्रदेश–५ को राजधानी बुटवललाई नबनाई दाङलाई बनाउने सरकारको प्रस्तावविरुद्ध बुटवललगायत आसपासका क्षेत्रका बासिन्दा असन्तुष्ट छन् । आज प्रस्तावको विरोधमा नेपाली काँग्रेसले रुपन्देही बन्दको आव्हान समेत गरेको थियो । काँग्रेसले दाङलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोध गर्दै आएको छ ।

शुक्रबार सरकारले मन्त्रिपरिषदबाट दाङलाई प्रदेश–५ को राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्ताव प्रदेश–५ को प्रदेशसभामा दर्ता भएको छ । त्यसमाथि सोमबार छलफल हुने बुझिएको छ । सत्तारुढ नेकपा सांसदहरुले यसमा समर्थन जनाएका छन् । प्रदेशसभामा नेकपाको भारी बहुमत छ । प्रदेशसभामा नेकपाका ६१, काँग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । नेकपासँग प्रदेशसभामा दुई तिहाई सांसद संख्या भएकाले प्रदेश ५ को नाम र राजधानी राख्ने प्रस्ताव पारित हुनसक्ने देखिन्छ ।

प्रदेशको राजधानी दाङ प्रस्तावप्रति नेकपा रुपन्देहीको विरोधः

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको रुपन्देही जिल्ला कमिटीले प्रदेशको राजधानी दाङ सार्न गरेको प्रस्तावप्रति विरोध जनाएको छ ।

संविधानले प्रदेश राजधानी तोक्दा प्रशासनिक, भूगोल र भौतिक पूर्वाधारको विकासलाई ध्यान दिनुपर्ने व्यवस्था गरे पनि प्रदेश सरकारले स्थायी राजधानी तोक्दा संविधानको भावना आत्मसात नगरेको नेकपाले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

‘कोरोना महामारीको विषम अवस्थामा प्रदेश सरकारले राजधानी सार्न पेश गरेको यो प्रस्ताव औचित्यपूर्ण पनि देखिंदैन’ पार्टी अध्यक्ष शिवराज सुवेदी र सचिव नारायण जीसीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रदेश राजधानी सार्दा रुपन्देही र यस आसपासका नागरिकलाई असुविधा पर्ने भएकाले जनमत आन्दोलित हुनु स्वाभाविक भन्दै नेकपाले राजनीतिक दल, संघसंस्था तथा नागरिकलाई संयमित रुपमा आफ्नो मत राख्न आग्रह गरेको छ ।

नेकपाले रुपन्देहीवासी र यहाँका संघसंस्थाले प्रदेश सरकार र यसका विभिन्न अंगहरुलाई स्थापित गर्न गरेको योगदानको सम्मान गर्न पनि प्रदेश सरकारलाई विज्ञप्तिमार्फत अपिल गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर