
४ असोज, सुनसरी । झारफुक गर्ने बहानामा विराटनगरकी एक महिलामाथी करणीको प्रयास गर्ने झाँक्री पक्राउ परेका छन् ।
सन्तान नजन्मिएपछि झाँक्रीसँग झारफुक गराउन पुगेकी महिलालाई बलात्कारको प्रयास गर्ने विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय झाँक्री बौना रामलाई प्रहरीले पक्राउ गरेको हो ।
महिलामाथि बलात्कारको प्रयास गरेको उजुरी आएपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।
सन्तानको आशमा रहेकी महिलालाई भाद्र २५ गते बिहान रामले घरकै पूजाकोठामा बलात्कार प्रयास गरेक हुन् । आफ्ना श्रीमानलाई समेत साथमा लिएर पुगेकी महिलालाई पूजाकोठामा खिरसँग लट्याउने औषधी खुवाएर बलात्कार प्रयास भएको प्रहरीले बताएको छ ।
आफूलाई लट्याउने कुरा मिसाएको खीर खान दिएसँगै शरीर आलसतालस भएर सबै कुरा राम्ररी थाहा नपाउने अवस्थामा पुगेपछि अंगालो हाल्दै रामले कपडा खोलेर बलात्कारको प्रयास गरेको महिलाको भनाइ छ ।
पीडितको जाहेरीका आधारमा धामीझाँक्रीको काम गर्दै आएका पुरुषलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गर्दा महिलामाथि बलात्कार प्रयास भएको खुलेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका रामविरुद्ध प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन म्याद थप गरेको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७