२८ भाद्र, काठमाण्डौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन सके भ्रष्टाचार नियन्त्रण हुने बताउनुभएको छ ।
अमेरिकामा रहेको अमेरिका–नेपाल नीति अनुसन्धान केन्द्रको पाँचौँ वार्षिक सम्मेलनका अवसरमा आज अनलाइनमार्फत पूर्वराष्ट्रपति यादवले निर्वाचनको निष्पक्षतासँग प्रजातान्त्रिक विधि गाँसिएको बताउनुभयो । उहाँले निर्वाचन प्रक्रियामा सुधारको आवश्यकता औँल्याउँदै निर्वाचनप्रति गम्भीर बन्न सम्बन्धित सबैमा आग्रह गर्नुभयो ।
नेपालको संविधानमा लेखिएका विषयहरुमा ज्यान भर्ने र देश तथा जनताको हितमा काम गर्ने जिम्मेवारी दलहरूको भएको बताउँदै उहाँले नेपाललाई बलियो र समृद्ध बनाउन तथा नेपालको प्रजातान्त्रिक प्रणालीलाई सुधार गर्दै लैजान देशबाहिर रहनुभएका नेपालीहरुले रचनात्मक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्व राष्ट्रपति यादवले पटकपटक सुशासनको चर्चा गरिए पनि यसका लागि आधार बनाउन चुकिएको भन्दै जनताको हक अधिकारको रक्षा र जनजीविकाको सवालमा राज्य र दलहरू गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा राज्यको भूमिका, दलहरुको अवस्था, उम्मेदवारहरुका व्यवहार र मतदाताको चेतनास्तरले प्रभाव पार्ने बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदाताको अपेक्षासमेत व्यक्तिगत सहयोगका लागि केन्द्रीत हुने गरेकाले जनप्रतिनिधिको भूमिका र मतदाताको बीचमा हुनुपर्ने सम्बन्ध पनि अन्य विषयमा फस्ने गरेको उल्लेख गर्नुभयो ।