२५ भाद्र, खेटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित धिर्नुडाँडामा रहेको जिएसएम र सिडीएमए टेलिफोन टावरमा केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान गरिएको छ ।
नियमित विद्युत अभावमा पटकपटक अवरुद्ध हुँदै आएको टेलिफोन टावरमा विद्युत् जडान भएपछि चौबीसै घण्टा टेलिफोन संञ्चालनमा आएको छ ।
विद्युत् अभावमा गत चैत्रदेखि अवरुद्ध टेलिफोन टावर मर्मतपछि केन्द्रीय प्रशारण लाइनको विद्युत जडान गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो ।
धिर्नुडाँडाको अवरुद्ध टेलिफोन टावर सञ्चालनमा आएपछि जिल्लाको उत्तरी क्षेत्रका टेलिफोनका सेवाग्राहीलाई सहज भएको छ । दुई वर्षअघि जडान गरेर सञ्चालनमा ल्याइएको टेलिफोन टावर यसअघिसम्म दैनिक बिहान दश बजेदेखि बेलुका पाँच बजेसम्म मात्र सञ्चालन हुँदै आएको थियो ।
थ्री–जी सेवा सञ्चालन हुँदै आएको उक्त टेलिफोन टावरमा केहि दिनभित्रै फोर–जी सेवासमेत सञ्चालन गर्ने तयारी गरिएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र मगरले बताउनुभयो ।
धिर्नुडाँडाको टेलिफोन टावरले केपिलासगढी गाउँपालिकाको सबै वडा तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा समेत काम गर्ने टेलिकमले जनाएको छ । जिल्लामा सञ्चालित सबै टेलिफोन टावरमा फोर–जी सेवा सञ्चालन गर्नेगरि तयारी भइरहेको टेलिकमले जनाएको छ ।
यसैबीच, दश स्थानीय तह रहेको खोटाङमा यस वर्ष १४ ठाउँमा टेलिफोन टावर जडानको काम भइरहेको टेलिकमले जनाएको छ । बाम्राङ, बराहपोखरी, बतासे, बुइपा, डाँडागाउँ, दिक्तेल, खार्पा, पाथेका, दुवेकोल, ऐसेलुखर्क, देविथान, बाँझेच्यानडाँडा, दोर्पाआहाले र डम्वरखुशिवालयमा जडानको काम भइरहेको हो ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यसअघि १४ ठाउँमा जडान गरिएको टेलिफोन टावरमार्फत टेलिफोन सेवा संञ्चालनमा छ ।
-रासस