२५ भाद्र, झापा । झापाको मेचीनगर नगरपालिकाले रेडियोबाट पठनपाठन शुरु गरेको छ । नगरपालिकाभित्र रहेका विद्यार्थीलाई लक्षित गर्दै रेडियोबाट पठन–पाठन शुरु गरेको हो ।
काँकरभिट्टामा रहेको रेडियो साथीसँग सहकार्य गर्दै नगरपालिकाले बैकल्पिक कक्षा शुरु गरेको रेडियो साथीका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौलाले जानकारी दिनुभयो । कक्षा ५ देखि १० कक्षासम्मका विद्यार्थीले अहिले रेडियोबाट शिक्षा लिईरहेका छन् ।
रेडियो साथीले झण्डै चार महिना अघिबाट रेडियो कक्षा सञ्चालन गरेको हो । सातामा छ दिन दैनिक १० बजेदेखि ११ः३० सम्म सो रेडियोले रेडियो कक्षा सञ्चालन गर्दै आएको छ । रेडियोबाट पठनपाठन गराउने यो नै जिल्लाको पहिलो रेडियो हो ।
रेडियोबाट अहिले अंग्रेजी, नेपाली, विज्ञान र सामाजिक विषय पठनपाठन हुन्छ । दैनिक एक विषय मात्रै पठनपाठन भए पनि दिनमा तीन वटा मात्रै कक्षा सञ्चालन हुँदै आएको प्रवन्ध निर्देशक निरौलाले बताउनुभयो । उहाँले भने कक्षा ५ र ६ लाई एउटा समूह, ७ र ८ लाई अर्काे र ९ र १० लाई अर्काे गरी तीन वटा समूहमा विभाजन गर्दै दैनिक रेडियोवाटै सिकाइरहेका छौं ।
यता धुलावारी माध्यमिक विद्यालयले रेडियोका माध्यमबाट पठनपाठन शुरु भएसँगै विद्यार्थीलाई ३५ वटा रेडियो वितरण गरेको छ । विद्यालयमा रहेका आमा समूहमार्फत समूहगत रुपमा रेडियो वितरण गरेको हो । एउटा समूहलाई ५ वटा रेडियो वितरण गरिएको छ ।
नगरपालिकाले सिकाइलाई प्रभावकारी बनाउन रेडियो कक्षा शुरु गरेपछि विद्यार्थीका लागि रेडियो वितरण गरेको हो । नगरको सहयोगमा प्रशारित रेडियो कक्षामा विज्ञान र सामाजिक विषयलाई अंग्रेजी र नेपाली दुवै भाषामा प्रशारण गरिँदै आएको छ । मेचीनगरमा अहिले वडा कार्यालयमार्फत पनि विद्यार्थीलाई रेडियो सुन्न भनिँदै आएको छ ।