२० भाद्र, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाललाई सफल मान्न नसकिने बताउनभएको छ । डा. खतिवडा अर्थशास्त्रमा काविल व्यक्ति भएपनि अर्थमन्त्रीको हैसियतले उहाँले व्यतित गरेको साँढे दुई वर्षको रेकर्ड भने मिश्रित रहेको डा. लोहनीले टिप्पणी गर्नुभएको छ ।
मन्त्रीको पदभार ग्रहण गरेलगत्तै खतिवडाले अघि सारेका कार्यक्रम र श्वेतपत्रअनुसार कुनैपनि काम नभएको उहाँको भनाई छ । युवराज खतिवडाको साढे २ वर्षको कार्यकाल कति सफल ? कति असफल ? अर्थमन्त्रीको रूपमा उहाँ सफल हुनुभयो ? भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा उहाँले यस्तो जवाफ दिनुभएको छः
उहाँ अर्थशास्त्रमा काबिल मानिनुहुन्थ्यो । उहाँ राष्ट्र बैंकको गर्भनर हुँदाखेरि सफल नै हुनुहुन्थ्यो । तर अर्थमन्त्रीको हैसियतले साढेको २ वर्षमा उहाँको रेकर्ड मिक्स छ । उहाँले आफु अर्थमन्त्री हुँदाखेरि जुन किसिमका कुराहरू भन्नुभएको थियो, उहाँले श्वेतपत्र निकाल्नुभएको थियो । देशमा भएका आर्थिक विकृतिहरू, लगानी राम्रोसँग गर्न नसकेको, त्यसको दुरूपयोग भएको, आर्थिक अनुशासन नभएको लगायतका थुप्रै कुराहरू उहाँले श्वेतपत्र निकालेर अब सुधार हुन्छ भनेर जुन कुराहरू भन्नुभएको थियो नि, त्यो उहाँ अहिले २ वर्ष ४ महिना कति सफल हुनुभयो, यो भनेको लामो समय हो, त्यो लामो समयमा सुधारका कामहरू केही पनि छैनन् । उहाँ आउनुभयो, २ वर्ष ४ महिना बस्नुभयो, जानुभयो । खास कुरा यो बेलामा यस्तो भयो, यस्तो सुधारका कामहरू भए, नेपालको अर्थतन्त्र, उद्योगमा प्रोत्साहन गर्नको लागि यस्ता वातावरण बनाइए भन्ने वास्तवमा केही पनि भएन । आर्थिक अनुशासन कायम गर्नको लागि, सरकारी क्षमताको वृद्धि गर्नको लागि खास कुराहरू केही पनि भएनन् । जुन किसिमका विकृतिहरू पहिले थिए, ती विकृतिहरूले निरन्तरता पाए, अझ बढेर गए । अर्थ मन्त्रालय विकृतिहरूलाई साथ दिने, विकृतिहरूलाई स्वीकृति दिने, विकृतिहरूको बीचमा चुप लागेर बस्ने, राजनीतिक जुन दोहन र शोषण भएको छ, त्यो दोहन र शोषणलाई सहयोगीको रूपमा अर्थमन्त्रालयमा अर्थमन्त्री देखिने यो अत्यन्त दुःखद कुरा हो ।