८ भाद्र, सुनसरी । कोरोना महामारीका कारण आर्थिक अभाव झेलीरहेका श्रमजीवी पत्रकारकालागि नेपाल प्रेस यूनियन सुनसरीले ‘फुड बैंक’ अभियान थाल्ने भएको छ ।
नेपाल प्रेस युनियन जिल्ला शाखा सुनसरीको आज बसेको बैठकले कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, नियमित पारिश्रमिक नदिनेसँगै कतिपय सञ्चार गृह बन्द भएका र केही आंशिक रुपमा सञ्चालन भएकाले समस्यामा परेकालाई मध्यनजर राखेर ‘फुड बैंक’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।
‘महामारीले गर्दा पत्रकारले सवैभन्दा बढी समस्या झेल्नु परेकाले पेशा जोगाउनै गाह्रो छ, अर्कातिर आर्थिक समस्या उत्तिकै छ,’ प्रेस युनियन जिल्ला अध्यक्ष पवन अधिकारीले भन्नुभयो, ‘पत्रकारकै मात्र कमाईंबाट धानिएको धेरैको परिवारलाईं समस्या भएपछि थोरै भएपनि राहत होस् भनेर हामीले फुड बैंक सुरु गरेका हौँ ।’ उहाँका अनुसार सक्ने पत्रकार, ठूला सञ्चार गृह र पत्रकारिताको हकहितमा कार्यरत संस्थाबाट उपलब्ध भएको सामग्रीहरु नहुनेलाई निःशुल्क प्रदान गरिनेछ ।
फुड बैंक अभियान सञ्चालन एवम ब्यावस्थापन गर्नका लागि जिल्लाका अग्रज पत्रकार एवम प्रेस युनियनका पुर्ब अध्यक्ष समेत रहेका कृष्ण अधिकारीको नेतृत्वमा पाँच सदस्यीय समिति तयार गरिएको छ ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७