१ भाद्र, काठमाण्डौँ । पाँच वर्षअघिको भारतीय नाकाबन्दीमा राजनीतिक कारण थियो । अहिले विश्वव्यापी महामारी कोरोनाको प्रकोप छ । यस्तो अवस्थामा नक्सा र राम जन्मभूमि अयोध्या बारे उसलाई जति रिस उठेपनि नाकाबन्दीको हदसम्म जान नसक्ने विश्लेषण गरिएको छ ।
मानवीय दृष्टिकोणबाट पनि भारत यसपटक विगतमाझैँ नाकाबन्दीको हदमा जाँदैन भनिएको छ । उसले निर्यातजन्य वस्तुमा करलगायतको विषय उठाएर अप्ठेरो पार्ने योजना बनाएपनि महामारीमा त्योसमेत मानवीय दृष्टिकोणले उपयुक्त नभएको भन्दै त्यत्तिकै पन्छाएको स्रोतको दाबी छ ।
उदाहरणको लागि नेपालमा रहेका पेट्रोलियम पदार्थ र ग्याँसका डिलर तथा बिक्रेताहरूको विभिन्न संगठनलाई लगाएर कोरोना संक्रमणको भयावह कारण देखाउँदै ती पदार्थको निर्यात रोक्ने तयारी थियो । त्यसपछि यताका नेपाली डिलर तथा बिक्रेताहरूले पनि आन्तरिक बितरण रोकेपछि महामारीसँगै अत्यावश्यक पदार्थको हाहाकार हुने तर नाकाबन्दी गर्न नपर्ने योजना बुनिएको बताइन्छ ।
यसबीच भारतले विभिन्न च्यानलबाट नेपाललाई हिन्दु राज्य बनाइदिने प्रस्ताव गरेको चर्चा चलाइएको छ । शनिवार परराष्ट्र मन्त्रीलाई साक्षी राखेर दुई देशका प्रधानमन्त्रीबीच भएको वार्तामा मुख्यगरी हाम्रा प्रधानमन्त्रीले ११ मिनेट बोल्नुभएको थियो । शनिवार नैै भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा दुई प्रधानमन्त्रीबीच कोरोना महामारीसँग जुध्न दुबै मुलुकले संयुक्त पहल गर्ने विषयमा कुराकानी भएको उल्लेख छ ।
वार्ताको बाटो खुलेकै हो त ?
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको फोन संवादले सकारात्मक सन्देश दिएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी वर्षाैँदेखि भोगचलन गरेकै आधारमा भारतले उक्त भूभागलाई आफ्नो दावी गर्दै आएको छ । तर नेपालले तथ्य र प्रमाणका आधारमा उक्त भूभाग आफ्नो दावी गर्दै नयाँ नक्सा जारी गरेपछि भारत असन्तुष्ट देखिँदै आएको हो ।
नक्सा प्रकरणपछि दुईदेश बीचको सम्बन्ध पहिलो पटक जनस्तरमै चिसिएको थियो तर शनिबार दुवै देशका प्रधानमन्त्रीबीच भएको फोन संवादले सकारात्मक सन्देश प्रवाह भएको जानकारहरु बताउँछन् ।
ओली र मोदी बीचको फोन संवाद कुटनीतिक पहलबाट मात्र सम्भव भएको हो । नेपालको तर्फबाट दुई देशको बीचमा देखिएको विवाद समाधान गर्न वार्ताका लागि प्रस्ताव हुँदै आए पनि भारतले वार्ताप्रति वास्ता गरिरहेको थिएन ।
भारतले कोरोना महामारीको बहानामा वार्ताको समय टार्दै आएको थियो तर नेपालले आफ्नो पहल जारी नै राख्यो । सोही पहलका कारण प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच फोन संवाद सम्भव भएको परराष्ट्र स्रोतले जनाएको छ ।
अन्तर्राष्ट्रिय मामिलाका जानकार एवं सांसद डा.दीपक भट्ट भन्नुहुन्छ–‘यो फोन संवाद त्यतिकै भएको होइन, नेपालको तर्फबाट लगातार भइरहेको कुटनीतिक प्रयासका कारण त्यो सम्भव भएको हो ।’ यसले वार्ताको वातावरण बनाएको बुझ्न सकिने उहाँको भनाइ छ ।