काठमाडाै । गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेपाल–भारत सीमा विवाद दुईपक्षीय समझदारी र कूटनीतिक पहलबाट समाधान गर्न सकिने बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकमा उनले परराष्ट्र मन्त्रालयले दुई पक्षीय छलफलमार्फत समस्या समाधान गर्न सक्ने बताएका हुन् ।
सीमा सुरक्षासम्बन्धी विशेष व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ । संसदीय समितिले पनि स्थलगत निरीक्षणलगायत काममार्फत समस्या हल गर्न लाग्नुपर्ने उनले बताए । उनले भने, “हामी सबैले चौतर्फी रुपमा पहल गर्दा मात्रै समस्या समाधान हुनसक्छ ।
सीमा छुट्याउने आधार नदीलाई मानिँदै आएको र नदीले समयसमयमा आफ्नो धार बदल्ने हुँदा समस्या आउने गरेको गृहमन्त्री थापाले बताए । छिमेकीको सीमा अतिक्रमण गर्ने नीति र चिन्तन रहेको पाइएको उनको भनाइ छ । पिलर फाल्ने वा सार्नेलगायत काम भइरहेको उनले बताए । सीमाका बारेमा स्थायी रुपमा संयन्त्र बनाएर त्यसले समयसमयमा त्यसको पुनरावलोकन गर्नुपर्ने उनको भनाइ छ ।