१६ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीका दुईजना अध्यक्षसमक्ष ल्याएको ६ बुँदे प्रस्तावले पार्टीमा झन् धुर्वीकरण बढाएको छ । नेकपाभित्र देखिएको शक्ति संघर्ष अन्त्यका लागि भन्दै उपाध्यक्ष गौतमले अघि सारेको प्रस्तावले अन्ततः पार्टीमा ध्रुवीकरण बढाएको हो ।
श्रावण १३ गते प्रचण्डको अध्यक्षतामा स्थायी कमिटीको बैठक बस्नुअघि वामदेव गौतमले ल्याएको ६ बुँदे प्रस्तावले पार्टीमा गुटगत राजनीति झन् सक्रिय भएको छ । १३ गते बसेको स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्यालाई समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको थियो ।
तर त्यस दिनदेखि हालसम्म दुईजना अध्यक्षको बीचमा कुनै संवाद भएको छैन । पार्टीको विवाद समाधानका लागि मध्यस्थताको भूमिका निर्वाह गर्दै आएका दोस्रो तहका नेताहरुले पनि दुईजना अध्यक्षको बीचमा संवाद गराउने वतावरण बनाउन सकेका छैनन् । बरु आ–आफ्ना गुटमा भेटघाट र छलफललाई उनीहरुले तीब्रता दिएका छन् । तर समस्या समाधानका लागि पहल गर्ने अवस्था कतै देखिएको छैन ।
बालुवाटार र खुमलटारमा दिनहुँजसो छलफल हुने गरेको छ । छलफलमा आ–आफ्नो गुटको रणनीति बनाउनेदेखि लिएर एक अर्काका नेतालाई कसरी तान्ने, आफ्नो गुटलाई कसरी बलियो बनाउने भन्ने योजना बनाउने गतिविधिले नै प्राथमिकता पाउने गरेको छ ।
श्रावण १३ गते उपाध्यक्ष गौतमले पार्टीभित्रको विवाद समाधानका लागि भन्दै ल्याएको प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहेको बुझाइ धेरैको छ । गौतमको प्रस्ताव आएकै दिन प्रधानमन्त्री ओली आफ्नो परिवारसहित भैंसेपाटीस्थित गौतम निवासमा पुगेका थिए । त्यहाँ उनले आफूलाई सहयोग गर्न उपाध्यक्ष गौतमलाई आग्रहसमेत गरेका थिए ।
पार्टी एकीकरण भएदेखि अधिकांश समय प्रचण्डकै गुटमा रहेका गौतमले पहिलोपटक ओलीलाई फाइदा पुग्ने प्रस्ताव ल्याएका हुन् । त्यसबाट उत्साहित भएका ओली ‘अब सँगै मिलेर जानुपर्छ’ भन्नका लागि गौतम निवास पुगेका थिए । त्यसपछि पनि ओली उपाध्यक्ष गौतमको नियमित सम्पर्कमा छन् र अन्य नेताहरुसँग आफ्नो निवासमा नियमित छलफल गरिरहेका छन् । सकभर प्रचण्डको गुटलाई कसरी भत्काउन सकिन्छ भनि रणनीति बनाउन प्रधानमन्त्री ओलीले अहिले दैनिक रुपमा छलफल गरिरहेका छन् ।
छलफलमा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायतका नेताहरु सहभागी हुने गरेका छन् । प्रधानमन्त्री ओली तत्कालीन माओवादी केन्द्रका केही नेताहरुसँग समेत नियमित सम्पर्क गरिरहेका हुन्छन् । आफ्नै क्यबिनेटमा रहेका गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र स्थायी कमिटी सदस्य लेखराज भट्टलाई उनले आफ्नो पक्षमा पारिसकेका छन् । उनले जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेलहरुलाई पनि तान्ने प्रयास गरिरहेका छन् ।
अध्यक्ष प्रचण्ड पनि पार्टीभित्रका यस्ता गतिविधिप्रति बेखबर छैनन् । उनी भित्री रुपमा सक्रिय भएका छन् । उनले आफ्नो निवासमा दैनिकजसो नेताहरुसँग छलफल गरिरहेका छन् । आफूसँग रहेका नेताहरुलाई कसरी जोगाउने भन्ने रणनीति बनाउन उनले छलफललाई तीव्रता दिएका छन् । सचिवालयका सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग अध्यक्ष प्रचण्डको नियमित रुपमै छलफल भइरहेको हुन्छ । केन्द्रीय समिति बैठकको माग गर्दै पार्टीमा पत्र बुझाएका नेताहरुसँग पनि अध्यक्ष प्रचण्डले छलफल गरिसकेका छन् । आफ्ना गुटबाट नेताहरु अन्यत्र नजाउन् भनि ती नेताहरुलाई बोलाएर उनले छलफल गरेका छन् ।
बिहीबारमात्र चक्रपाणि खनाल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मणि थापा, जनार्दन शर्मा, वर्षमान पुनलगायतका नेताहरुलाई बोलाएर उनले छलफल गरेका छन् । उनीहरुले प्रचण्डसमक्ष आफूहरुले ‘राजनीतिक लाइन’ परिवर्तन नगरेको विश्वास दिलाएका थिए ।
‘पार्टीलाई विचार र पद्धतिका आधारमा सञ्चालन गर्नुस्, त्यसमा आफूहरुको सहयोग रहन्छ’ भनेर उनीहरुले प्रचण्डलाई विश्वास दिलाएको स्रोतले जनाएको छ । यो बेला पार्टीको बारेमा कुनै निर्णय लिँदा होस पुर्याएर लिनुपर्ने उनीहरुको सुझाव छ ।
प्रचण्ड–माधवकुमार समूहले रामबहादुर थापा र लेखराज भट्टसँग पनि कुरा गर्ने प्रयास गरिरहेको छ ।
श्रावण १३ गतेको स्थायी कमिटीको बैठकमा अनुपस्थित भएर दुवैजनाले केपी ओलीलाई समर्थन गरेको प्रष्ट भइसकेको छ । स्रोतका अनुसार स्थायी कमिटीको बैठकमा आउनका लागि रामबहादुर थापालाई अध्यक्ष प्रचण्डले स्वयं फोन गरेका थिए । तर उनले आफू मन्त्रालयमा रहेको र एउटा काम सकाएर आउने भने पनि बैठकमा गएनन् ।
ओली र प्रचण्डविच छत्तिस्को आकडाः
श्रावण १३ गते बसेको पार्टीको बैठकले आन्तरिक विवाद समाधानका लागि अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीसँग छलफल गर्न जिम्मेवारी दिएको छ । पार्टीले गरेको निर्णयअनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रयास गरिरहेका छन् तर सफल भइरहेका छैनन् ।
अध्यक्ष प्रचण्डले छलफलका लागि पटक–पटक खबर पठाए पनि प्रधानमन्त्री ओलीले इच्छा देखाएका छैनन् । अध्यक्ष प्रचण्डले हिजो पार्टीका महासचिव विष्णु पौडेललाई बोलाएर पनि यो विषयमा छलफल गरेका छन् । खुमलटार स्रोतकाअनुसार अध्यक्ष प्रचण्डले महासचिव पौडेललाई पार्टीमा देखिएका विवादलाई चाँडै समाधान गर्नुपर्ने जनाउँदै यो समस्या तत्काल समाधान नभए विष्फोट हुनसक्ने बताएका छन् ।
यो समस्याले सबैलाई डुवाउने बताउँदै प्रचण्डले यो समस्या समाधान गर्न प्रधानमन्त्री ओलीले पहल लिनुपर्ने भनेका थिए । पौडेलसँगको छलफलमा अध्यक्ष प्रचण्डले पार्टीमा प्रधानमन्त्री ओलीका कारण विवाद बढेको समेत बताएका थिए । यसको समाधान प्रधानमन्त्री ओलीले नै गर्नुपर्ने भन्दै उनले छलफलको वातावरण तयार गर्न भनेका थिए ।
वार्ताका लागि वतावरण बनाउने सन्देश दिएर महासचिव पौडेल फर्केपनि हालसम्म प्रधानमन्त्री ओलीले वार्ताका लागि कुनै संकेत दिएका छैनन् । बरु आफ्ना गुटका नेताहरुसँग बालुवाटारमा दैनिक जस्तो छलफल गरिरहेका छन् । प्रचण्ड–माधव गुटलाई कसरी गलाउन सकिन्छ भन्ने रणनीति तयार नभएसम्म उनी प्रचण्डसँग छलफल गर्ने तयार छैनन् ।
प्रधानमन्त्री ओलीले राजीनामा नदिने अडान लिएपछि स्थायी कमिटीको बैठक प्रभावित भएको छ, हाल सो बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यता स्थायी कमिटीको बैठक स्थगित भइरहेका बेला उता केन्द्रीय समितिको बैठक माग गर्दै दुई तिहाई केन्द्रीय सदस्यहरुले पार्टीमा लिखितपत्र दर्ता गराएका छन् ।