सुनको मूल्य तोलामा ९९ हजार पुग्योः अझै बढ्ला ?

सुनको मूल्य तोलामा ९९ हजार पुग्योः अझै बढ्ला ?

१५ श्रावण, काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको कारोवार मुल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा तोलामा नै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ । यसैगरी तेजाबी सुनको मुल्य पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।

सुनको मुल्य अझै बढ्ला ?

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले ऐतिहासिक विन्दु छुने क्रम रोकिएको छैन । मंगलबारमात्रै एक हजार नौँ सय ६८ डलर प्रतिऔँसको विन्दुलाई छोएर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्यमा बुधबार केही कमी आए पनि सुनको मूल्यको ट्रेन्ड यतिबेला उन्नतोदरतिरै छ । विश्व बजारले २ हजार डलर प्रतिऔँस र नेपाली बजारले एक लाख रुपैँया प्रतितोलाको मूल्य निर्धारणलाई प्रतिक्षा गरिरहेको जस्तो देखिन्छ । तर, मूल्य यो विन्दु छोएर पनि पुरानो लयमा फर्किएला भन्ने अनुमान भने कसैले गरेका छैनन् ।

सुनको मूल्य यसरी निरन्तर रुपमा बढ्दै जानुलाई डलरप्रतिको अविश्वासको रुपमा हेरिएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर र सुन दुवैलाई लगानीको सुरक्षित क्षेत्र मानिने गरिएकोमा कोरोनाभाइरससँगै अमेरिकी अर्थतन्त्रमा देखिएको संकटका कारण डलरप्रतिको विश्वसनीयता गुम्दै गएको देखिन्छ । उता अमेरिकाको फेडेरल रिजर्भले पछिल्लो समय अत्यधिक डलर बजारमा प्रवाह बढाउँदै लैजाँदा यसले थप जोखिम सिर्जना गरेको छ । यही कारण लगानीकर्ताहरुले डलरको लगानीलाई सुनतिर सिफ्ट गर्न थालेकोले पछिल्लो अवस्था देखिएको हो । सोही कारण युरो, पाउण्ड स्टर्लिङ, युआन, येन जस्ता ठूला अर्थतन्त्र भएका मुलुकको मुद्रासँग डलरको विनिमयदर यतिबेला घट्दै गएको छ । अर्थात १ अमेरिकी डलर किन्न तिर्नुपर्ने ती मुद्राको मात्रा घट्दै गएको छ ।

डलरप्रतिको विश्वास गुम्दै जाँदा अरु मुद्राहरु वा कमोडिटिजमा लगानी जानु स्वाभाविक नै हो । तर कोरोनाभाइरसको महामारी नियन्त्रण हुन नसकेको र जुनसुकै देशमा पनि यो संक्रमण फैलिनसक्ने भएका कारण यतिबेला अन्तराष्ट्रिय लगानीकर्ताको प्रमुख रोजाइ सुन बनेको हो । यसै पनि सुन सबै देशले स्वीकार गरेको मानक कमोडिटी पनि हो ।

त्यसो त, सुनको मूल्य बढ्न थालेको लगातार डेढ वर्ष भइसकेको छ । चीन र अमेरिकाको व्यापार युद्धदेखि नै अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास डलरप्रति कम हुँदै गएको हो । तर, बलियो जगमा निर्माण भएको अमेरिकी अर्थतन्त्रलाई सानोतिनो युद्ध वा प्रकोपले हल्लाउन सक्दैन भन्ने विश्वास सबैलाई थियो । तर कोभिड–१९ का कारण त्यो विश्वास गुम्दै गएको छ । सोही कारण डलरको माग कम र सुनको माग बढी हुँदै गएको हो ।

अहिले सुनको मूल्य बढ्नुको कारण सुनको माग बढ्नु एकातिर हुँदै हो । तर, डलर आफैमा विनिमयको माध्यम भएको कारणले पनि यसको दोहोरो असर पर्न गएको देखिन्छ । अर्थात अरु मुद्रासँग डलरको घट्दै गएको दरका कारणले पनि यसमा असर परेको विश्लेषण गरिएको छ । सोही कारण सुनले दिनप्रतिदिन नयाँ रेकर्ड बनाइरहेको देखिएको छ ।

बजारशास्त्रमा प्रतिफललाई जोखिमबापतको पुरस्कार मानिन्छ । अर्थात, जुन क्षेत्र लगानीको लागि बढी सुरक्षित हुन्छ त्यसमा प्रतिफल कम हुन्छ र जुन क्षेत्र बढी जोखिमपूर्ण हुन्छ, त्यसको प्रतिफल पनि बढी हुन्छ । तर, सुनले पछिल्लो समय फेरि एकपटक विश्व बजारले स्वीकार गरेको यो मान्यतालाई चुनौती दिएको छ । सबैभन्दा सुरक्षित मानिएको सुनको लगानीमा पछिल्ला २ महिनामै १५ प्रतिशत भन्दा लाभ प्राप्त भइसकेको छ । २ वर्षअघि लगानी गर्नेले यतिबेला करिब ६५ प्रतिशत नाफा कमाइसकेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा यसअघि सुनको मूल्यले २ हजार डलर प्रतिऔँसको विन्दु छोएर फर्किनसक्ने विश्लेषण गरिएको थियो । पछिल्लो समय भने यो अझै माथि जानसक्ने अनुमान गर्न थालिएको छ । अमेरिकामा कोरोनाभाइरसको महामारी अझै कम नभएको अवस्थामा डलरप्रति लगानीकर्ताले थप जोखिम देखेका छन् ।

अमेरिकाले आफ्ना नागरिकलाई अर्काे स्टिमुलस प्याकेज ल्यायो र बजारमा थप डलर प्रवाह गर्न थाल्यो भने यसले थप जोखिम निम्त्याउने विश्लेषण गर्न थालिएको छ । पछिल्लो अनुमान यही अवस्थाको परिणति हो ।

नेपालमा लकडाउन अघि ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ४ महिनापछि एकैपटक १० हजार २ सय रुपैयाँले बढेर ८७ हजार ४ सय रुपैयाँमा कारोबार भयो । त्यसपछि पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । डेढ महिनाको अवधिमा थप ११ हजार रुपैयाँको मूल्यवृद्धि भइसकेको छ । अन्तर्राष्ट्रिय बजारजस्तै नेपालमा पनि सुनको मूल्य एक लाख रुपैयाँभन्दा धेरै माथिसम्म पुग्ने अनुमान गर्न थालिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर