बजेट परिचालनमा प्रदेश–१ सरकार सफलः खुद बजेटको ९९.४२ प्रतिशत खर्च

बजेट परिचालनमा प्रदेश–१ सरकार सफलः खुद बजेटको ९९.४२ प्रतिशत खर्च

९ श्रावण, विराटनगर । प्रदेश–१ सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद बजेटको ९९ दशमलव ४२ प्रतिशत खर्च गर्न सफल भएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारी अनुसार प्रदेशको खुद आम्दानी रु ३० अर्ब छ करोड ६७ लाख ६३ हजार ९४५ मा सिमीत हुँदा रु २९ अर्ब ८९ करोड १० लाख १३ हजार ४०५ रुपैयाँ खर्च भएको हो ।

प्रदेश–१ सरकारले रु ४२ अर्ब २० करोड ४ लाख १० हजारको बजेट ल्याएको भएपनि सबै शीर्षकको आम्दानी खुम्चिँदा रु ३० अर्ब ६ करोड ६७ लाख ६३ हजार ९४५ मात्र आम्दानी भएको छ ।

बजेटमा राजस्व बाँडफाँडबाट रु १० अर्ब २७ करोड ९७ लाख आम्दानी हुने उल्लेख भएकोमा वास्तविक प्राप्ती ६६ दशमलव ९८ प्रतिशत मात्र भएको छ । बजेटमा तोकिएको अंकभन्दा ३३ प्रतिशत कम अर्थात रु ६ अर्ब ८८ करोड ६० लाख ६४ हजार ४१२ रुपैयाँ मात्र राजस्व बाँडफाँडबाट प्राप्त गरेको छ ।

यसैगरी बजेटमा संघीय अनुदान रु २१ अर्ब २० करोड ७४ लाख प्राप्त हुने अनुमान गरिएकोमा रु १७ अर्ब ९८ करोड ९९ लाख ३८ हजारमात्र अर्थात ८४.८३ प्रतिशत मात्र प्राप्त भएको छ ।

यता प्रदेश सरकारले आन्तरिक आय तर्फ रु ४ अर्ब ९ करोड ७० लाख ७ हजार हुने अनुमान बजेटमा गरेकोमा त्यसको ६७ दशमलव ४४ प्रतिशत अर्थात रु २ अर्ब ७६ करोड ३२ लाख ५६ हजार ४४३ रुपैयाँ मात्र राजस्व संकलन गर्न सफल भएको छ ।

यसैगरी अघिल्लो आर्थिक वर्षको नगद मौज्दात रु ६ अर्ब ६१ करोड ६३ लाख ३ हजार हुने अनुमान गरिएकोमा रु २ अर्ब २४ करोड ७५ लाख ५ हजार ९० रुपैयाँ अर्थात ३६ दशमलव ६९ प्रतिशत मात्र भएको छ । समग्र आम्दानी हेर्दा सरकारले पेश गरेको बजेटभन्दा रु १२ अर्ब २० करोड कम वास्तविक आम्दानी प्रदेश सरकारले गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर