ओलीका अस्त्रहरु घेराबन्दी तोड्न विफलः महाधिवेशनको कार्ड मान्य छैन-प्रचण्ड

ओलीका अस्त्रहरु घेराबन्दी तोड्न विफलः महाधिवेशनको कार्ड मान्य छैन-प्रचण्ड


४ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशनको प्रस्ताव गरेपनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको स्पष्ट पारेका छन् । उनले ओलीले गरेको ‘अर्ली महाधिवेशन’ प्रस्ताव मान्य नरहेको र त्यसमा आफूहरुबीच कुनै सहमति नरहेको आइतबार प्रचण्ड निवास खुमलटारमा सचिवालयका ४ सदस्य र केही स्थायी समितिका सदस्यको भेलामा स्पष्ट पारेका हुन् ।

‘ओलीजी र मेरोबीच कुनै सहमति भएको थिएन । सहमति बिनै अर्ली महाधिवेशनको कार्ड फालियो, यो उपयुक्त छैन’, प्रचण्डले बैठकमा ब्रिफिङ गरे, ‘यसमा मेरो सहमति छैन । यो कार्यान्वयन पनि सम्भव छैन ।’ उनले मंसिरमा महाधिवेशन गर्ने भनेर जुन प्रचारबाजी गरियो त्यो प्रपोगाण्डा ठीक नभएको पनि बताएका थिए । शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डबीच मंसिरमा महाधिवेशन गर्ने समझदारी भएको बाहिरिएको थियो । यसको वरिष्ठ नेता माधव कुमार नेपालले चर्काे आलोचना गरेका थिए ।

यसबारे विभिन्न टिकाटिप्पणी भएपनि प्रचण्ड निवासमा छुट्टै छलफल भएको हो । छलफलमा प्रचण्डले सचिवालयका सदस्य माधवकुमार नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै समीकरण नबनेको कुरा प्रष्ट पारेका थिए ।

ओलीको प्रस्तावमा प्रचण्डको पनि सहमति रहेको र दुवैजनाको सहमतिमा नै यो प्रस्ताव आएको भन्दै नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु आपत्ति प्रकट गरेका थिए ।

पार्टी तथा सरकारको बारेमा आफ्नो जे अडान थियो त्यो अझै कायमै रहेको र त्यसमा कुनै प्रकारको शंका उपशंका नगर्न पनि प्रचण्डले आग्रह गरे ।

खुमलटार स्रोतले भन्यो, ‘अब स्थायी कमिटीको बैठक कुनै पनि बहानामा रोक्न नहुनेमा नेताहरु एकमत देखिनु भएको छ । अध्यक्षहरुको बीचमा कुरा मिलेपछि मात्र स्थायी कमिटीको बैठक बस्ने भनिएको थियो । दुईजना अध्यक्षको बीचमा छलफल धेरै भयो अब बाँकी रहेका छलफल पनि स्थायी कमिटीको बैठकमै हुने नेताहरुको जोड थियो ।’

पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगित भएर साउन ६ गतेका लागि तय भएको छ ।

ओलीका अस्त्रहरु घेराबन्दी तोड्न विफलः

पार्टीभित्र आफु विरुद्धको घेराबन्दी तोड्न प्रधानमन्त्री ओली असफल भएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतम ओलीको राजीनामामा टसमस भएका छैनन् । अहिलेसम्मको स्थितिमा सचिवालयका ९ मध्ये ६ जना ओलीको राजीनामा माग्ने पक्षधरमा छन् । जसलाई छिन्नभिन्न पार्न ओलीले धेरै प्रयास गर्दै आएका छन् ।

ओलीले सचिवालयका नेताहरुलाई आफ्नो पक्षमा पार्न अनेकन आश्वासनहरु दिदै आए । यसअघि दिएका आश्वासन पूरा नभएकोमा असन्तुष्ट नेताहरुले यसपटकको आश्वासनमा शंका व्यक्त गरे । यसलाई फुटाऊ र राज गरेको रणनीतिका रुपमा बुझेर सजग भए ।

ओलीले मंसिरमा महाधिवेशन गरी प्रचण्डलाई पार्टीको एकल अध्यक्ष बनाउने प्रस्ताव गरे । यसमा प्रचण्ड लचिलो भएका थिए । तर, महाधिवेशन मंसिरमा गर्न कोभिड १९ ले सम्भव नभएको निष्कर्षसहित प्रचण्ड गम्भीर भए । त्यसमाथि माधवकुमार नेपालले ओली र प्रचण्डको सहमतिले मात्र नहुने भन्दै प्रशन उठाए । यसरी प्रचण्डलाई सहमतिमा ल्याउन ओलीले फालेको अस्त्र विफल भयो । आज खुमलटारमा बैठक बसी ओलइतरका नेताहरुले राजीनामाको माग यथावत रहेको स्पष्ट पारे ।

विरोधीको घेरा तोडुन ओलीले निकटस्थ पठाएर र आफै भेटेर माधव नेपाललाई तेस्रो वरियताको अध्यक्ष देखि सरकार सञ्चालनको संयन्त्रको निर्देशक बनाउने आश्वासन दिए । तर, नेपाल कुनैपनि प्रस्तावमा सहमत भएनन् । उनी राजीनामाको मागमा अडिग गरे ।

बामदेव गौतमलाई राष्ट्रियसभामा लगेर सरकारमा सहभागी गराउने देखि भविष्यमा प्रधानमन्त्री बनाउन सहयोग गर्ने आश्वासन दिए । तर, गौतम पटक पटक धोका खाइसकेकाले लचिलो भएनन् ।

ओलीले घेराबन्दी तोड्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेतको सक्रियता खोजे । भण्डारीले उनले भनेबमोजिम चालेका कतिपय कदमहरुलाई धमाधम अनुमोदन मात्र गरिनन् राजनीतिक सक्रियता पनि देखाइन् । नेकपाका प्रभावशाली नेताहरुलाई शितलनिवास बोलाएर छलफल गरिन् । उनीमाथि राष्ट्रपति पार्टीको झगडा मिलाउने निकायका रुपमा देखिएको भन्दै आलोचना समेत भयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर