३ श्रावण, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टीको आन्तरिक विवाद समाधानका लागि दिउँसो ३ बजे सचिवालय बैठक बस्ने भएको हो ।
सरकारका क्रियाकलाप तथा पार्टी एकताका बाँकी प्रक्रियामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्न थालेको भन्दै पार्टीमा आन्तरिक असन्तुष्टि बढेको छ ।
नेकपाको विवाद उत्कर्षमा पुगेपछि शुक्रबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यसअघि जारी स्थायी कमिटी बैठक स्थगित गरेर सचिवलाय बैठक बोलाउने सहमति भएको थियो ।
बिहीबार पनि प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । आन्तरिक विवाद मिलाउन भन्दै कैयौं पटक शीर्ष नेताहरु छलफलमा जुटे पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।
असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि पार्टीभित्र आन्तरिक कलह बढेको हो । यद्यपी ओली दुवै पद नछाड्ने अडानमा छन् ।
ओली एक ‘स्टेप’ पछिः
असार १० देखि जारी स्थायी कमिटीको बैठक रोकेर भदौको पहिलो साता केन्द्रीय कमिटीको बैठक बोलाउन केपी ओली, प्रचण्ड र माधव नेपाल बिहीबार बालुवाटारमा सहमत भएका थिए । शुक्रबार ११ बजे स्थायी कमिटीको बैठक बस्ने र त्यहीँबाट केन्द्रीय कमिटीको मिति तोक्ने तीन नेतावीच सहमति भएको थियो ।
तीन नेताको ‘जेन्टलमेन एग्रिमेन्ट’पछि शुक्रबार बेलुकै प्रचण्डनिवास खुमलटार र प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई गुटका बेग्लाबेग्लै बैठकहरु बसे ।
आफ्नो गुटको भेलामा प्रचण्ड–माधव समूहका नेताहरुले केन्द्रीय कमिटीको बैठक बोलाउनु उपयुक्त हुने निश्कर्ष निकाले । तर, बालुवाटारमा बसेको ओली गुटको बैठकले भने अहिलेको अवस्थामा केन्द्रीय कमिटीको बैठकमा जाँदा आत्मघाती हुन सक्ने निश्कर्ष निकाल्यो ।
स्थायी कमिटीको निर्णयलाई त केन्द्रले अनुमोदन गर्नुपर्छ भनेर केही समय टार्न सकिएला, तर केन्द्रीय कमिटीले जे निर्णय गर्छ, प्रधानमन्त्रीले त्यसलाई मान्नैपर्ने हुन्छ भन्दै ओली पक्षका नेताहरुले ओलीलाई सतर्क गराए ।
बिहीबार राति बालुवाटारमा प्रधानमन्त्री ओलीले पोखरेलसहित महासचिव बिष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङसहित प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतका नेताहरुसँग छलफल गरेका थिए ।
छलफलमा अर्काे पक्षको सम्भावित कदम र त्यसको सामना गर्ने रणनीतिका ओलीले परामर्श गरेका थिए । केन्द्रीय कमिटीको बैठक बोलाउन प्रधानमन्त्रीले दिउँसो गरेको सहमति उचित नभएको उनी निकटका नेताहरुले सुझाएपछि ओली अघिल्लो दिनको सहमतिबाट एकाएक ‘ब्याक’ भए ।
शुक्रबार बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक दिउँसो ३ बजेलाई सारिएको सूचना आयो । तर, ३ बजे पनि बैठक बसेन र आइतबार दिउँसो ३ बजे बस्ने गरी स्थायी कमिटीको बैठक एकै दिन दुईचोटि सारियो । यसवीचमा शनिबार सचिवालय बैठक बस्ने सूूचना आयो ।
आखिर भदौमा केन्द्रीय समितिको बैठक राख्ने विहीबारको त्रिपक्षीय सहमतिबाट प्रधानमन्त्री ओली किन ‘ब्याक’ भए ? यसको खास कारण बाहिर आइसकेको छैन ।
तर, यो परिघटनाका पछाडि दुईवटा कारणहरु हुन सक्ने नेकपाका नेताहरुको विश्लेषण छ । नाम उल्लेख नगर्ने शर्तमा एकजना स्थायी कमिटी सदस्यको विश्लेषण यस्तो छ–प्रथम– प्रधानमन्त्री ओली स्थायी कमिटीलाई छल्नका लागि केन्द्रीय कमिटीको बैठकमा जान सहमत हुनुभएको थियो । तर, बेलुका बालुवाटारमा भेला भएका उहाँका निकटस्थहरुले त्यसबाट प्रधानमन्त्रीकै विपक्षमा निर्णय आउन सक्ने त्रास देखाइदिए ।
दोस्रो– केन्द्रीय कमिटीको सामना गर्न नसक्ने अवस्थामा पुगेपछि प्रधानमन्त्री ओली एक कदमपछि हटेको अर्थमा पनि यसलाई लिन सकिन्छ । र, सचिवालयमै छलफल गरेर प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने उहाँले भित्रैबाट महसुस गर्नुभएको पनि हुनसक्छ ।’
आखिर प्रधानमन्त्री ओलीले किन केन्द्रीय कमिटी बैठकको साटो सचिवालय र स्थायी कमिटीको बैठक नै रोजे त ? केन्द्रीय कमिटीलाई टार्नका लागि मात्र हो या कुनै निकास दिनका लागि ? यसको संकेत सम्भवतः शनिबारको सचिवालय बैठक पछि नै आउला ।
तर प्रधानमन्त्री ओली केन्द्रीय कमिटीको सामना गर्ने आँट गर्न नसकेर एक कदम पछि हटेको तथ्यचाहिँ शुक्रबार दिनभरिको परिघटनाले नै पुष्टि गरिसकेको प्रचण्ड–माधव पक्षका नेताहरुको तर्क छ । तथापि वीच धारका नेताहरुचाहिँ केन्द्रीय कमिटीको बैठकमा विना एजेण्डा जानु उचित नहुने भएकाले सचिवालय र स्थायी कमिटीले केन्द्रीय कमिटीको बैठकका लिखित एजेण्डा तय गर्न आवश्यक रहेको बताउँछन् ।