२ श्रावण, झापा । एनआईसी एसिया बैंकले न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चामत्कारिक कर्जा योजनाहरु सार्वजनिक गरेको छ ।
बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा घर कर्जा, सवारी कर्जा र ब्यवसाय कर्जा उपलब्ध गराउने र उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको जनाइएको छ । आज एनआईसी एसिया बैंकको क्षेत्रिय कार्यलय दमक झापाले पत्रकार सम्मेलनको आयोजना गरी ३ महत्वपूर्ण योजनाहरु सार्वजनिक गरेको हो ।
सुपर चामत्कारिक घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहने ग्राहकले यस योजनाको लाभ लिन सक्ने बताइएको छ ।
योजनाअनुसार न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्षको कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा सीमा कायम गरिएको एनआईसी एसिया बैंकको क्षेत्रिय कार्यलय दमकका प्रमुख डेनराज सुब्बाले जानकारी दिनुभयो ।
यसैगरी सुपर चामत्कारिक सवारी कर्जा अन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहकले कर्जा प्राप्त गर्न सक्नेछन् । अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेका ग्राहकले यस बैंकको सुपर चामत्कारिक सवारी कर्जाअन्तर्गत आफ्नो कर्जा स्थानान्तरण गर्न समेत सक्नेछन् । यस योजनाअन्तर्गत अधिकतम २ करोड कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।
देशको अर्थतन्त्रलाई बलियो टेवा दिइरहेको साना तथा मझौला उद्योग व्यवसाय कोरोना भाइरस महामारीले प्रभावित हुँदै गइरहेको यस्तो अवस्थामा बैंकले साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सुपर चामत्कारिक व्यवसाय कर्जा योजना ल्याएको बैंकले जनाएको छ । यसअन्तर्गत उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्नुहुनेछ र यस्तो कर्जा सीमा अधिकतम रू. १ करोडसम्म निर्धारण गरिएको छ । यस्तो योजनाबाट विषम परिस्थितिमा समेत लगानीको वातावरण बनाउन आम सर्वसाधारणलाई थप प्रोत्साहन तथा प्रेरणा मिल्ने बैंकले विश्वास लिएको छ ।
सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको सुपर चमत्कारिक कर्जामार्फत ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीतिअनुरुप आवश्यक कागजात प्राप्त भएपश्चात बैंकले यी तीनवटा कर्जाबारे ४८ घण्टाभित्र नै निर्णय दिने व्यवस्था गरेको छ । यी कर्जाबारे आवेदन बैंकको बेवसाइट धधध.लष्अबकष्बदबलप.अयm मार्फत अनलाइन दिन सकिनेछ । साथै ३४४८८ मा ीयबल टाइप गरी एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस कल गरी थप जानकारी प्राप्त गर्न सकिने जनाईएको छ ।