१ श्रवाण, झापा । नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा पूर्वीनाका भएर सुपारी, मरीज, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाए लगत्तै त्यसको असर राजस्व असुलीमा परेको छ ।
नेपाल सरकारले २०७६ चैत्र १६ गते काँकरभिट्टा नाका भएर आयात हुने यी वस्तुको आयात प्रतिवन्ध गरेसँगै प्रदेश–१ मा सर्वाधिक राजस्व संकलन गर्ने पूर्वको मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा प्रभाव परेको छ ।
भन्सार अधिकारीहरका अनुसार भन्सार कार्यालय गत आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक राजस्व लक्ष्य गुमाएको छ । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले यस कार्यालयलाई गत आर्थिक वर्ष २०७६÷२०७७ का लागि रु १३ अर्व २४ करोेड १ लाख ९९ हजार रुपैयाँ वार्षिक राजस्व असुलीको लक्ष्य दिएको थियो । तर त्यो वर्ष कार्यालयले ८ अर्ब ३५ करोड ६६ लाख ५२ हजार ६ सय १२ रुपैयाँ वा लक्ष्यको तुलनामा ६३ दशमलव १२ प्रतिशत मात्र रकम असुली गरेको भन्सार अधिकृत भरतराज अधिकारीले जानकारी दिनुभयो । जुन रकम लक्ष्यको तुलनामा ३६ दशमल ८८ प्रतिशतले कमि हो ।
राजस्वले लक्ष्य पुरा नगर्नुमा धेरै कारण भएपनि मुख्य कारण सवैभन्दा बढी राजस्व असुली हुने वस्तुको आयातमा प्रतिबन्ध लगाउनु नै भएको ठहर भन्सार अधिकारीहरुको छ । यसैगरी कोरोना भाइरस संक्रमणका कारण पनि राजस्व असुली प्रभावित बनेको कार्यालयका सूचना अधिकृत समेत रहनुभएका अधिकारीले बताउनुभयो ।
भन्सार अधिकृत अधिकारी भन्नुहुन्छ—‘राजस्व लक्ष्य पुरा नहुनुका धेरै कारण छन्, कोरोना संक्रमण तथा मुख्य वस्तुको आयातमा प्रतिवन्धले कार्यालयले लक्ष्य पुरा गर्न सकेन् ।’ उहाँका अनुसार सरकारको निर्णयसँगै प्रतिवन्धित वस्तुको आयात ठप्प भएपछि असुली दैनिक कम हुदै गएको थियो ।
यस्तैगरी भारतको पश्चिम बंगाल सरकारले नेपालसँग सीधा सीमा जोडिएको भारतको पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको १ अर्ब १० करोड रुपैयाँ राजस्व प्र्रभावित बनेको कार्यालयको भनाई छ ।