५ आश्विन, झापा । वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका झापालीहरुको संस्था अन्तर्राष्ट्रिय झापाली समाजले झापामा स्थापना हुन लागेको पिसिआर ल्यावका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
समाजको हिजो साँझ बसेको अनलाइन बैठकले सो ल्याव निर्माणका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय भएको हो । झापामा नागरिकस्तरबाट कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याव स्थापनाका लागि अभियानले रकम संकलन सुरु गरेको थियो ।
अभियानको विशेष आग्रह तथा समाजले चासो देखाएपछि विश्वभर रहेका झापाली माझ रकम संकलन गरिएको थियो । समाजले ४० वटा देशमा रहेका भगिनी समाजसँग संस्थागत सहयोग संकलन गरेको थियो । समाजका प्रवक्ता बालहरि राईले विज्ञप्ति निकालेर अभियानलाई रकम प्रदान गर्ने जानकारी गराउनुभएको हो ।
समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षता तथा संरक्षक दिनेश पोखरेलको विशेष उपस्थितिमा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष दिपक खनाल, उपाध्यक्षहरु दिपक ओली, नविन पोखरेल, दिपक चुडाल, महासचिव खेमराज जमरकट्टेल, कोषाध्यक्ष चूडामणि कार्की लगायत कार्यसमिति सदस्यहरुको सहभागिता थियो ।