२ आश्विन, मुम्वई । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा बलिउडको असहिष्णु र परिवारवादको राजनीतिले भूमिका खेलेको भन्दै सामाजिक सञ्जालमा बहस सुरू भएको छ ।
राजपुतका साथीहरु सपना भवानी, अनुभव सिन्हा र निखिल द्विवेदीलगायतले बलिउडको पाखण्डी शैलीको चर्काे आलोचना गरेका छन् ।
बलिउडमा पाखण्ड मौलाएको भन्दै बलिउड अभिनेत्री कंगना रनावटले पनि चर्काे आलोचना गरेकी छन् ।
इन्स्टाग्राममा एक भिडिओ पोस्ट गर्दै उनले सुशान्तको दुःखद् अवसान आत्महत्या हो या योजनाबद्ध हत्या हो भन्दै बलिउड उद्योगप्रति प्रश्न उठाएकी छन् ।
यसैगरी भारतका पूर्वसासंद सञ्जय निरूपमले आफ्नो ट्विटमा ‘छिछोरे’को व्यापक सफलताका बाबजुद ६ महिनाको अवधिमा ७ वटा सिनेमा गुमाएको लेखेका छन्न् । बलिउडको यस किसिमको क्रुरताको उनले चर्काे आलोचना गरेका छन् ।
तर सुशान्तका दाइ निरजका अनुसार फिल्म गुमाउनु आत्महत्याको कारण नभएको बताएका छन् । उनका अनुसार सुशान्त कुनै प्रकारको आर्थिक समस्याबाट पनि गज्रिएका थिएनन् । उनको विवाह नोभेम्बर–डिसेम्बरसम्म हुने निश्चित भएको थियो ।
अबेर राती साथी र बिहान दिदीलाई फोन गरेका थिएः
जानकारीका अनुसार सुशान्तले शनिबार राती पौने १ बजे आफ्ना एक साथीलाई फोन गरे तर उनले फोन उठाएनन् । आइतबार बिहान सुशान्त उठे । ९ बजे अनारको जुस पिए । त्यसपछि मुम्बईमा बस्ने आफ्नी दिदीलाई फोन गरे त्यसपछि बेडरुम गए ।
दिउँसो करिब साढे १२ बजे उनका कुकले खानाका लागि ढोका ढक्ढकाए । मोबाइलमा फोन पनि गरे । तर कुनै जवाफ नआएपछि उनकी दिदीलाई फोन गरे । दिदी आएपछि चाबी बनाउने व्यक्तिलाई बोलाएर बेडरुमको ढोका खोल्दा सुशान्तको शव झुण्डिएको अवस्थामा फेला परेका थियो ।