संविधान संसोधन विधेयकको पक्षमा मतदान गर्ने समाजवादी पार्टीको धारणा

संविधान संसोधन विधेयकको पक्षमा मतदान गर्ने समाजवादी पार्टीको धारणा


३१ जेष्ठ, काठमाण्डौँ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताउनुभएको छ ।

नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धीभन्दा राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने बताउनुभयो । सुगौली सन्धीले महाकाली पश्चिमको भूमि भारतको भनेपनि महाकाली नदीको भूभाग नै सीमा भएको कुरा राष्ट्रघाती महाकाली सन्धीमा उल्लेख भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाल इष्ट इण्डीया कम्पनी र नेपालबीच भएको सुगौली सन्धी अत्यन्तै अपमानजनक थियो । नेपालले ठूलो भूमि गुमाउनुपर्याे । नेपालले कुनै पनि युरोपियन अमेरिकन वा विदेशीलाई इष्ट इण्डीया कम्पनीलाई सोध्नुपर्छ भन्ने अपमानकजनक कुरा थियो । काली नदी पश्चिम सीमाना भनेर स्पष्ट लेखिएको थियो । तर महाकाली सन्धी गर्दा सन्धीका हर्ताकर्ताहरु धेरै ठूला पार्टीका ठूला नेताहरु हुनुहुन्थ्यो, अहिलेका प्रधानमन्त्री पनि हुनुहुन्छ । महाकाली नदीबाट पश्चिमका भागको दावी नेपालले छोडेको हो सुगौली सन्धीमा तर महाकाली नदिको सम्झौता गर्दा त्यसको प्रस्तावनामा लेखिएको छ । महाकाली नदीको अधिकांश भाग दुई मुलुको सीमा नदी भएको स्वीकार गर्दै भनेर लेखिएको छ । सुगौली सन्धीले पाएको क्षेत्राधिकारलाई महाकाली सन्धीले पछाडि धकेल्ने कुरा उल्लेख छ । जवाफ दिनुपर्यो कांग्रेस कम्युनिष्ट पार्टीका नेताहरुले जवाफ दिनुपर्यो । यसका लागि हामी सबैले माफी किन नमाग्ने ? राष्ट्रवादीको नारा हामी दिन्छौँ, मधेशीलाइ गाली गर्छाैँ, यिनीहरु भारतीय हुन् भनेर भन्छौ भनेर माफी माग्नुपर्याे नि ।’’

कालापानी क्षेत्रमा ६० वर्षबाट भारतले विभिन्न संरचना निर्माण गरी सेना राखेको उल्लेख गर्दै उहाँले सन् १९६५ मा पनि सन्धी भएको कुराहरु बाहिर आएकाले यो विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो । नश्लवादी मानसिकता त्यागेर आन्तरिक राष्ट्रियतालाई बलियो बनाएमात्रै राष्ट्रिय एकता बलियो हुने उहाँले बताउनुभयो ।

राष्ट्रवादको भावना टुट्यो भने कुनै पनि सेना, सरकार र संविधानले रोक्ने नसक्ने उनले बताउनुभयो । नीतिगत कुराहरु आफ्नो ठाउँमा भएपनि राष्ट्रियता र देशभक्तिको सवालमा आफ्नो दल बलियो रहेको उहाँले बताउनुभयो ।

यस्तै राजपाका सांसद राजेन्द्र महतोले संविधानमा आफूहरुको असहमति भएपनि नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने बताउनुभएको छ ।

संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै महतोले संविधानप्रति आफूहरुको असहमति रहेको बताउनुभयो । तर अहिले राष्ट्रियता र भूमिको सवाल उठेको भन्दै उहाँले भन्नुभयो, ‘सबै असन्तुष्टिलाई थाती राख्दै नयाँ नक्सासम्बन्धी प्रस्तावलाई सहर्ष समर्थन गर्छाैं । कुन देश बेचुवाले देश बेच्यो ? स्वेतपत्र जारी गर्नु पर्दैन ? देश बेचुवाहरुलाई टुँडिखेलमा झुण्ड्याउनु पर्दैन ?’

महाकाली सन्धि संसदबाट पास भएको स्मरण गर्दै उहाँले राष्ट्रघातीहरुको पहिचान गर्न माग गरेका छन् । उहाँले अघि भन्नुभयो, ‘२५ वर्ष पहिले महाकाली सन्धि कसरी भयो ? त्यसमै महाकाली नदीको मुहान कहा भनेर क्लियर गर्नु पर्दैन ?’

मधेसी जनताले सीमाको रक्षा गर्दै आएको भन्दै आफूहरुको राष्ट्रियतामा प्रश्न नगर्न चेतावनी समेत दिनुभएको छ । ‘कति चोटी अग्नि परीक्षा दिने ? कति पटक प्रमाण दिने हामीले’ उनले भने, ‘मधेसी जनतामाथि अन्याय नगर्नुस् ।’

राजपा नेता महतोले नयाँ नक्सासँगै जमिन फिर्ता ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर