२६ जेष्ठ, काठमाण्डौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले कोरोना संक्रमणको असर अन्त्य भएको ६ महिनाभित्र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालयमाथी सांसद्हरुले उठाएको प्रश्नहरुको उत्तर दिँदै उहाँले विमानस्थल निर्माण कार्यको अन्तिम चरणमा आफूहरू पुगेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो–‘कोरोना संक्रमणको असर नभएको भए आज गौतमबुद्ध विमानस्थलबाट दोहा– कतार उड्न पाइन्थ्यो । कोरोना संक्रमणको स्थिति नर्मल भएको ६ महिनाभित्र गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नेछौं ।’
यसका साथै उहााले पोखरा विमानस्थलको काम पनि अगाडि बढिरहेको बताउनुभयो । यस्तै काठमाडौं विमानस्थलको सुदृढीकरणको काम तिब्रगतीमा भइरहेको उहाँले बताउनुएको छ ।
निजगढ विमानस्थलको काम पनि तीव्र रूपमा अघि बढिरहेको उहाँले सदनमा जानकारी गराउनुभयो ।
उनले नेपालका विभिन्न विमानस्थलको स्तरोन्नति भइरहेको बताउँदै तराईका प्रायः सबै विमानस्थलबाट रात्रिकालीन सेवा सुरू गरिएको जानकारी दिनभयो ।