२३ जेष्ठ, इलाम । गोलीया ब्यवसायीहरुको छाता संगठन राष्ट्रिय वन पैदावर ब्यवसायी संघ केन्द्रिय कार्यालय इलामले आज प्रदेश १ का मुख्यमन्त्रीको कार्यलय तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा गोलीया निकासी खुलाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
प्रदेश–१ का भूमी ब्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री राम बहादुर राना र प्रदेश सांसद धिरेन्द्र शर्मा (रमण)मार्फत संघले मुख्यमन्त्री कार्यालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा ज्ञापन पत्र पठाउँदै गोलिया निकासीको वातावरण बनाउन माग गरेका हुन् ।
ब्यवसायी संघका अध्यक्ष रोहीत खड्काले ज्ञापन पत्र बुझाउदै कटान गरी थन्काईएको कुकाठको गोलीया प्रदेश सरकारको पहलमा निकासी गर्ने वातावरण बनाउन माग गर्नुभयो ।
ज्ञापन पत्र बुझदै भूमी ब्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री राम बहादुर रानाले प्रदेश १ मा गोलीया निकासी सूचारु गर्न तत्काल पहल थालिने बताउनुभयो । उहाँले भन्नुभयोः ‘नीजि वनलाई नगदे बालीका रुपमा राखेर सहज वातावरण बनाउने काम गर्नु पर्छ । यसो गरे सधैलाई समस्याबाट मुक्ती पाईन्छ । ’
यस्तै प्रदेश सांसद शर्माले कुकाठको निकासी खुलाउन प्रदेश सरकारले पहल गर्ने विश्वाश व्यक्त गर्नुभयो । उहाँले कोरोनाका कारण मुलुक अप्ठयारो अवस्थामा रहेका बेला सरकारको समेत राजस्व गुम्ने भएकाले गोलीया निकासी खुलाउन तत्काल पहल थालिने बताउनुभयो ।
पूर्वी पहाडी जिल्लाका किसानको ठूलो आर्थिक हिस्सा धान्दै आएको गोलीया निकासी रोकीए पछि यतिबेला किसान र व्यपारी समस्यामा परेका छन् । बार्षिक रुपमा १ अर्ब भन्दा बढिको गोलिया निर्यात हुने पुर्वी पहाडी क्षेत्रका जिल्लामा यति बेला कोरोनाका कारण समस्यामा परेको हो ।
बन्दाबन्दी शुरु भए पछि कोरोनाको त्रासका कारण आफै केहि समय गोलिया निकासी ठप्प थियो । बिचमा केहि दिन गोलिया निकासी सूचारु गरिए पनि केहि दिन अघि मन्त्रीपरिषदको निर्णयले रोक्न भनेपछि व्यवसायी र किसान समस्यामा परेका छन् ।