
१८ जेष्ठ, काठमाण्डौँ । सरकारले प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गरेलगत्तै भारतीय मिडियामा हल्लीखल्ली सुरु छ ।
कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभागलाई समेटेर हालै जारी भएको नेपालको संशोधित नक्सालाई संविधानमा समेट्नका लागि सरकारले संविधान संशोधन विधेयक आज प्रतिनिधिसभामा पेस गरेको छ ।
नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) समावेश गर्न सो विधेयक पेश भएको हो । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेश गर्नुभएको हो ।
सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि यही जेष्ठ ९ गते सङ्घीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको थियो ।
संविधान संशोधन प्रस्ताव पेस गर्ने कार्यसूची हटाएलगत्तै भारतीय मिडियामा ‘भारतका सामु नेपाल झुक्यो’ भन्ने आशयले आत्मरतिपूर्ण समाचार विवरण प्रकाशन तथा प्रसारण भएको थियो । केही भारतीय मिडियाले त नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारलाई नयाँ नक्साबारे साथ दिन अस्वीकार गरेका कारण सरकारले संशोधन प्रस्ताव दर्ता गर्न नसकेको समेत जनाएका थिए ।
आज संसदमा संविधान संशोधन विधेयक पेश भएपछि भने भारतीय मिडियामा अचानक हल्लीखल्ली मच्चिएको छ ।
भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ले नेपाली कांग्रेसको समर्थनपछि ओली नेतृत्वको सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेको जनाएको छ । उसले नेपालको यो कदमले दुई देशबीचको सम्बन्ध अझ बिग्रनसक्ने विश्लेषण गरेको छ ।

‘आज तक’ले नेपाल–भारत सीमा विवाद थामिने संकेत नदेखिएको भन्दै नेपाल सरकारले संसदमा संविधान संशोधन प्रस्ताव पेस गरेको जनाएको छ । उसले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई ‘भारतको भूमि’ दावी गरेको छ । नेपाल सरकारद्वारा संसदमा पेश गरिएको संशोधन प्रस्तावमा ती भूभागलाई नेपालमा गाभेको संशोधित नक्सा नेपालको संविधानमा समेट्न खोजिएको उसको जिकिर छ ।
भारतीय अखबार ‘अमर उजाला’ले आफ्नो अनलाइन संस्करणमा नेपाली कांग्रेसका कारण संसदमा पेश गर्न ढिलाइ भएको संविधान संशोधन विधेयक आज कानुनमन्त्री तुम्बाहाङ्फेले पेश गरेको उल्लेख गरेको छ । शनिबार कांग्रेसले संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेसँगै आज सरकारले संविधान संशोधन विधेयक पेश गरेको सो अखबारको भनाइ छ ।

‘एबीपी न्यूज’ ले नेपालद्वारा जारी नक्सालाई ‘विवादित’ संज्ञा दिँदै सो नक्सालाई लिएर संविधान संशोधन गर्न विधेयक पेश गरिएको जनाएको छ ।
यस्तै ‘नवभारत टाइम्स’ले पनि अनलाइन संस्करणमा नेपालसँगको सम्बन्धलाई अघि बढाउन भारतलाई चुनौती थपिएको उल् लेख गरेको छ । दुई देशबीचको सम्बन्ध बिग्रनुमा भारतको पनि भूमिका रहेको भन्दै सो अखबारको अनलाइन संस्करणमा लेखिएको छ, ‘सायद लिपुलेक सडकको उद्घाटन यति भब्य रुपमा नगरेको भए हुन्थ्यो भनेर पनि स्रोतहरुले भनेका छन्, सेना प्रमुखको बयानले पनि आगोमा घ्यु थप्ने काम गरेको छ ।’
नक्सा परिवर्तनमा नेपालले गरेको कोसिसले दुवै देशको सम्बन्धमा असहज हुने सो अखबारको भनाइ छ ।
‘दैनिक भास्कर’को अनलाइन संस्करणमा पनि आज प्रतिनिधिसभामा पेश गरिएको संविधान संशोधन प्रस्ताव नेपालको संघीय संसदको दुवै सदनमा सहजै पारित हुन सक्ने जनाइएको छ । सत्तारुढ दल नेकपा प्रतिनिधिसभामा दुई तिहाई नजिक रहेको र प्रमुख प्रतिपक्ष कांग्रेसले पनि समर्थन जनाइसकेका कारण संविधान संशोधन विधेयक सहजै पारित हुने सो अखबारले उल्लेख गरेको छ ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७