१८ जेष्ठ, काठमाण्डौँ । समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थर परिवर्तनको प्रस्ताव गर्नुभएको छ । प्रतिनिधि सभामा आज भएको बजेटमाथिको छलफलका क्रममा उहाँले वर्णाश्रम व्यवस्था परिवर्तन गरेर श्रमको संस्कार निर्माण गर्नुपर्ने बताउनुभयो ।
‘अनि जो श्रम गर्ने हो सीप भएको हो । त्यसलाई दलित भनेर हेपेपछि विकास हुन्छ ?’ भट्टराईले भन्नुभयो, ‘दलित शब्द प्रयोग नगरौं अरू शब्द प्रयोग गरौं भन्नुहुन्थ्यो साथीहरूले मेरो त एउटा प्रस्ताव छ – तपाईं हामी सबैले दलित नाम राखिदिउँ न, बाबुराम भट्टराई कामी भन्न किन नहुने ?’ भट्टराईले काम गर्ने मान्छेले कामी भनेर गर्व गर्ने अवस्था श्रृजना गर्नुपर्ने बताउनुभयो ।
अर्को प्रसङमा नेता भट्टराईले सम्पतिको अभिलेखिकरण गर्नुपर्ने लगायत बजेटमा सातवटा सुझाव दिनुभएको छ । बजेटमाथिको छललफलमा भाग लिँदै डा. भट्टराईले आइतबार प्रतिनिधि सभामा यस्तो विचार व्यक्त गर्नुभएको हो ।
१. सम्पतिको अभिलेखिकरण गरौँ र सम्पत्तिमाथि पनि कर लगाऔँः सम्पत्ति घोषणा गरौँ यसै राजश्व बढ्छ ।
२.कृषिमा यन्त्रिकरणः कृषिमा यन्त्रिकरण गर्नुको विकल्प छैन । जमिन बाँझो राखेका छौँ, त्यो बन्द गरौैँ । त्यसैले प्राकृतिक स्रोत साधन स्रोतलाई राष्ट्रियकरण गरौँ ।
३. शिक्षा र स्वास्थ्य राज्यको दायित्वः शिक्षा र स्वास्थ्यको दायित्व राज्यले नै लिन जरुरी छ । गुणस्तरीय शिक्षा सुधार गरौँ । नीजि विद्यालयलाई सार्वजनिक विद्यालय जिम्मा दिने कुरा हावादारी हो । यस्तो योजनाले शिक्षामा गुणस्तर बढ्दैन । शिक्षा र स्वास्थ्यलाई नाफा भन्दा पनि सेवाको क्षेत्रको रुपमा विकास गरौँ ।
४.रोजगारी सिर्जनाः टाकनटुकन योजना आए तर यो प्रयाप्त भएन । सुधार गरेर बजार र उत्पादनको व्यवस्थापन गरौँ । भारतसँगको गैर पारस्पारिक सम्बन्धका आधारमा जान सकिए युवाहरु स्वरोजगार बन्न सक्छन् ।
५.आधारभूत ठूला पूर्वाधारः यी पूर्वाधार भद्रगोल भए । सडक, विजुली लगायतमा मास्टर प्लान बनाऔँ । योजना बिना हामी काठमाडौ उपत्यकाका सांस्कृतिक सम्पदाको नष्ट गर्दैछौँ ।
६.एकीकृत सामाजिक सुरक्षाः सबैलाई आधारभूत जीवन निर्वाहकोे व्यवस्था गर्नुपर्छ । जातपात प्रथा भएसम्म सामाजिक न्याय पनि हुँदैन र श्रम गर्ने संस्कार हुँदैन ।
७. कर्मचारीमा पुर्नसंरचनाः कर्मचारी संचरना भत्काऔँ । केन्द्रमा यति धेरै ५० हजार कर्मचारी काम छैन । सांसद विकास कोेष किन चाहियो ? यो रकम अन्य क्षेत्रमा खर्च गर्न सकिन्छ ।