१८ जेष्ठ, काठमाण्डौँ । राजपाका सांसद राजेन्द्र महतोले सरकारले आगामी आवका लागि ल्याएको बजेट आम जनताको पक्षमा नभएको र सत्तारुढ दलको स्वार्थसिद्ध गर्न मात्रै केन्द्रित भएको गम्भिर आरोप लगाउनुभएको छ
। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७÷७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै महतोले यस्तो बताउनुभएको हो ।
उहाँले कोरोनाका कारण समस्यामा परेका नागरिकलाई राहत दिन बजेटले कुनै सम्बोधन नगरेको, गरिब तथा गरिखाने वर्गको पक्षमा कार्यक्रम नआएकोमा रोष प्रकट गर्नुभयो । महतोले मुलुक सङ्घीयतामा गएको भन्ने तथ्यसमेत सरकारले बिर्सेको र स्रोत तथा साधनको वितरणमा समेत विभेद गरिएको गुनासो पोख्नुभयो ।
शासक वर्ग छोडेर आमजनता बजेटबाट कति उत्साहित छ त्यो महत्वपूर्ण रहने बताउँदै हरेक वर्ष जनता उत्साहित हुन नसकेको बताउनुभयो । बजेट निराशाजनक भएकोले के टिप्पणी गर्ने भन्दै प्रश्न गर्नुभयो । राज्यविहिन र राष्ट्रियता नभएका, सिमान्तकृतहरुलाई पछाडि पार्ने गरी बजेट आएको बताउनु्भयो । शासन पक्षका लागि बजेट ल्याएको भन्दै औपनिवेशिक मान्यताको बजेट भएको उहाँको भनाई थियो ।
विगत ५ सय वर्षदेखि औपनिवेशिक मान्यतामा बजेट आएको उहाँको दावी थियो । आफूलाई दाता र अरुलाई बक्सिस दिने हिसाबले बजेट बनाउने गरेको बताउँदै उहाँले नेपाली जनता यसको शिकार भएको बताउनुभयो ।
राज्यको चरित्रअनुसार उसले कानून बनाउने, संविधान बनाउने, बजेट ल्याउने बताउँदै मधेशी, जनजाती, थारु पीडित भएर बस्नुपर्ने र अल्पसंख्यक शासक भएरले दान दिएजस्तो बजेट दिने गरेको नेता महतोले बताउनुभयो ।
कोरोना संक्रमणका बेला जनताको स्वास्थ्य कसरी रक्षा गर्न सकिन्छ बजेटमा त्यस्तो केही नभएको उल्लेख गर्नुभयो । लकडाउन भएको २ महिना भएको, जनताले खान नपाएको बेला जनताप्रतिको दायित्व पूरा नगरी ३ घण्टा बजेट भाषण गरेर के हुन्छ भन्दै उनले प्रश्न गर्नुभयो ।
बजेट भाषणमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन भनेपनि जनताहरु भोकले मरिरहेको उहााले बताउनुभयो । सप्तरीको टोमलाल मुसहर, धादिङको सुर्यबहादुर तामाङ, धनुषाको वीरेन्द्र यादव भोकै मरेको भन्दै सरकारको अलिकति पनि नैतिकता नभएको बताउनुभयो । उहाँले मोरङमा एक सुत्केरी महिना भोकै परेर बिरामी भएको उदाहरण उहाँले दिनुयो ।