१८ जेष्ठ, काठमाण्डौँ । भारत नेपालसँगको सिमा विवाद समाधान गर्नको लागि वार्ता गर्न तत्पर भएको छ । नेपालले अद्यावधिक गरिएको नक्सालाई संविधानको अंग बनाउनेगरि आजै संविधान संशोधन प्रस्ताव दर्ता गरिसकेको छ ।
आजको बैठकमा नै उक्त प्रस्ताव कार्यसुचिको रुपमा प्रस्तुत हुँदैछ । उता, भारतले भने नेपालसँगको सिमा विवाद आपसी छलफल, वार्ता र कुटनीतिक पहलमार्फत समाधान गर्ने तयारीलाई तिव्रता दिएको स्रोतले जनाएको छ ।
उच्च स्रोतले दिएको जानकारीअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विरोध नगर्न त्यहाँका मिडियालाई आग्रहसमेत गरेका छन् । नेपालले लिपुलेक, लिम्पयाधुरा र कालापानी समावेश गरेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि भारतीय मिडिया नेपालको विरुद्धमा अफवाह फैलाउनेगरि प्रस्तुत भैरहेका छन् ।
उनीहरुले नेपालले चीनको उक्साहटमा लागेर नयाँ नक्सा जारी गरेको पनि दाबी गरेका छन् । भारतीय मिडियाले नेपाललाई जोडेर गरेका प्रस्तुतिले दुई देशबीचको समस्या समाधानको लागि भन्दापनि समस्यातर्फ धकेल्ने मोदीको बुझाई छ । सोहीअनुसार उनले मिडियालाई नेपालविरोधी प्रचार नगर्न आग्रह गरेको बुझिएको छ ।
नेपाल मामिलाका जानकारहरु अशोक मेहता र विजय जोलीले भारत वार्ताको लागि तयार रहेको बताईसकेका छन् । सिमा विवाद समाधानको लागि भारतले नेपालसँग आज र भोलिभित्रै वार्ता अघि बढाउने तयारी गरिरहेको छ । नेपाल र भारतबीच सचिवस्तरीय, मन्त्रीस्तरीय र प्रधानमन्त्रीस्तरीय जुनसुकै स्तरमा पनि आज र भोलिमै कुराकानी हुने उच्च स्रोतको दाबी छ । भारतीय प्रधानमन्त्री मोदीले हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजैपनि फोन गर्नसक्ने सम्भावना रहेको स्रोतको दाबी छ ।
सरकारले संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गरिसकेको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा सम्भवत संविधान संशोधन प्रस्ताव टेबुल हुनेछ । प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव सर्वसम्मतीले पारित गर्नुपर्ने भन्दै यसअघि नै सर्वदलीय बैठक बोलाउनुभएको थियो ।
बैठकमा सबै दलले प्रस्तावको पक्षमा मतदान गर्ने बताएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने भनेर हिजो साँझ नै निर्णय गरिसकेको छ । कांग्रेसको हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले अद्यावधिक गरिएको नक्सालाई संविधानको अंग बनाउने प्रस्तावका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको थियो ।
यता संविधानमा नेपालको नयाँ नक्सासहितको निशान छाप समावेश गर्ने गरि सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव आज संसद्मा पेस हुने भएको छ । संसद सचिवालयले आइतबारको सम्भावित कार्यसूचीमा संशोधन विधेयक पनि राखेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पेस गर्ने कार्यसूची छ ।