१८ जेष्ठ, काठमाण्डौँ । संविधानमा नेपालको नयाँ नक्सासहितको निशान छाप समावेश गर्ने गरि सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव आज संसद्मा पेस हुने भएको छ ।
संसद सचिवालयले आइतबारको सम्भावित कार्यसूचीमा संशोधन विधेयक पनि राखेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पेस गर्ने कार्यसूची छ ।
यसअघि गत बुधबारको कार्यसूचीमा परे पनि सो प्रस्ताव हटेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिजो केन्द्रीय समिति बैठकबाट संशोधन प्रस्तावको पक्षमा उभिने निर्णय गरेको थियो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको हिजो बसेको केन्द्रीय वैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो राति सकिएको बैठकले अद्यावधिक गरिएको नक्सालाई संविधानको अंग बनाउने प्रस्तावका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।
सरकारले यसअघि नै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको अद्यावधिक नक्सा जारी गरिसकेको छ ।
प्रतिनिधिसभामा कांग्रेसका ६३ जना सांसद छन्। अब संविधान संशोधनका लागि सरकारलाई आवश्यक पर्ने दुई तिहाइ मत निश्चित भएको छ । आज संसदमा पेस भएलगत्तै संशोधन विधयेक सार्वजनिक जानकारीका लागि राजपत्रमा प्रकाशित हुन्छ ।