१७ जेष्ठ, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कालापानी, लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ ।
आज बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँले उक्त निर्णय सामाजिक सञ्जाल टिव्टरमार्फत जानकारी गराउनुभएको हो ।
बैठक अपरान्ह १ बजेबाट सुरु भएको थियो ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा संविधान संशोधन प्रस्ताव पेश हुँदैछ । जेष्ठ १३ गतेकै बैठकमा उक्त संशोधनसम्बन्धी प्रस्ताव संसदको कार्यसुचिमा परेको थियो ।
तर, बैठक सुरु हुनुअघि मात्रै उक्त प्रस्ताव कार्यसूचिबाट हटाईएको थियो । कांग्रेसले समय माग गरेपछि प्रस्ताव कार्य सुचिबाट हटाईएको कानून मन्त्रीको भनाई थियो । तर, कांग्रेस नेताहरुले भने आफू उक्त प्रस्तावको पक्षमा उभिएकोले कार्यसूचिबाट प्रस्ताव हटाउन आफूहरुले भनेको जिकिर गरेका छन् ।