१६ जेष्ठ, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधान्मन्त्री माधवकुमार नेपालले यस वर्षको बजेटले अहिलेको आवश्यकतालाई बोध गरेको बताउनुभएको छ ।
उहाँले कोरोना फैलिएको बेलामा यो बजेटले रोग र भोकसँग कसरी सामना गर्ने कुरालाई सम्बोधन गरेको प्रतिक्रिया दिनुभएको छ ।
‘जनताको व्यवस्थापन गर्ने र रोजगारीको कुरा, कृषि क्षेत्रालाई प्रोत्साहन गर्ने कुरा, उद्योगधन्दा, सेवा क्षेत्रका व्यवसाय र ऋणमा परेकाहरूलाई के कति सहुलियत दिन सकिन्छ भन्ने कुरा र कुन क्षेत्रमा कति कर लगाउने भन्ने विषय यो बजेटले समेटेको छ,’ उहाँले भन्नुभयो ।
नेता नेपालले बजेटले सबै कुरालाई समेटेको भए पनि यसको स्रोत जुटाउन भने निकै चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘स्रोत जुटाउन चुनौतीपूर्ण छ । यसमा आर्थिक उत्पादन कुन ढंगबाट अघि बढ्छ र कोरोना कहिलेसम्म रहन्छ भन्ने कुरा जोडिएको छ ।’
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले सरकारले ल्याएको बजेट सरकार र नेकपाको असफलताको रुपमा आएको टिप्पणी गर्नुभएको छ । उहाँले बजेटमा नयाँ दृष्टिकोण नभएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो ‘बजेट सरकार र नेकपाको असफलताको रुपमा आएको छ, झण्डै दुई तिहाइको बलशाली सरकारले यस्तो कठिनाइका बेला नयाँ भिजनसहितको बजेट ल्याउन सक्नु पर्दथ्यो, कल्पनाशीलता प्रदर्शन गर्न सक्नुपर्दथ्यो ।’