१५ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रचना गर्नुभएको “बन्छ नमुना नेपाल” बोलको गित सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले दोस्रो मृगौला प्रत्यारोपण गराउन त्रिभुवन त्रिभुवन शिक्षण अस्पतालमा बस्दा यो गीत लेख्नुभएको हो । नेकपाको अध्यक्ष समेत रहनुभएका प्रधामन्त्री ओलीले आफूले बनाउन चाहेको नेपालको बारेमा गीत मार्फत परिकल्पना गर्नुभएको छ ।
गीतमा ‘स्वदेशमै रोजगारी, स्वदेशमा बस, रोजिदैन अव प्रवास, अब गर्ने देश विकास’ भनिएको छ । गीतको दृश्यमा भनेजस्तै यतिबेला अधिकांश नेपाली बैदेशिक रोजगारमा जानुपर्ने बाध्यता छ । प्रधानमन्त्री ओलीको गीतले ‘खेर जाँदैनन् नदी नाला बाझो हुनन् खेत र नाङगा हुनन् डाँडा पाखा हाम्रो यो उर्वर देश’ भनेको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् संगीत विभाग प्रमुख समेत रहेका संगीतकार प्राज्ञ अशोक राईले उक्त गीतमा संगीत भर्नुभएको छ । देशप्रेम, देश विकास र समृद्धिको सपना झल्किने गीत युवा गायक सञ्जय तुम्रोक र गायिकाद्वय दुर्गा परियार र श्रेयसी चेम्जोङको स्वरमा रहेको छ ।
प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपन गर्न शिक्षण अस्पतालमा भर्ना हुनुभएको बेला नेपालको सुन्दर कल्पना गर्नु हुँदैँ यो गितमा राष्ट्रप्रतिको प्रेम झल्काउनुभएको छ ।