१५ जेष्ठ, सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाले गाउँपालिका भित्र रहेका किसानहरुलाई उन्नत जातको धानको विउँ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।
लकडाउनका कारण गाउँपालिका क्षेत्र भित्र रहेका किसानहरुको आर्थिक रुपमा टेवा पुगोस भनेर सो विउँ वितरण गरीएको वर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले बताउनुभयो ।
कोरोना भाइरसका कारण विश्वभरीको अर्थतन्त्र नै धरासायी भएको अवस्थामा कृषि पेशा मात्र सुरक्षित देखिएकोले किसानहरुका लागि विउँ वितरण गरिएको बताईएको छ । यस कार्यक्रमले खाद्यान्न जोहो गर्न ठुलो योगदान पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज कार्किले बताउनुभयो ।
गाउँपालिका क्षेत्रमा रहेका ६ वटै वडाका सम्पुर्ण किसानहरुलाई अनुदानमा उन्नजातको सुवर्णा, राधा १२, रंजित, कान्छि लगाय जातका धानको विउँ वितरण गरीएको हो ।
बर्जु–२ का स्थानिय किसान नन्दन यादवकाले बन्दाबन्दिका बेलामा गाउँपालिकाले विउँ वितरण गर्दा स्थानिय किसानहरुलाई ठुलो राहत भएको बताउनुभयो । साथै वर्जु–५ का अध्यक्ष किशोर चौधरीका अनुसार आफ्नो वडामा २ सय ५० जना भन्दा बढी किसानले अनुदानमा विउँ पाएका छन् । यसले कृृषि पेशामा ठुलो टेवा पुग्ने उहाँले बताउनुभयो ।
लामो समय देखी जारी बन्दाबन्दीका कारण अन्न भण्डारणमा विउँ वितरण कार्यक्रमले किसान दाजुभाईहरुलाई ठुलो सहयोग पुगेको वर्जु–२ का वडाध्यक्ष आनन्द यादवले बताउनुभयो ।