माङसेबुङ, माघ २५ । इलामको धार्मिक पर्यटकिय स्थल माङसेबुङमा सुरु भएको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा दिपेन्द्र शिखर फुटबल क्लब इलाम विजयी भएको छ । मिक्लाजुङ फुटबल क्लब पाँचथरलाई २-० गोल अन्तरले हराउदै शिखर सेमिफाइनल प्रवेश गरेको हो ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा शनिबार भएको खेलमा सजिना कोइराला र स्वस्तिका विकले समान एक गोल गर्दै शिखरको जित दर्ता गरेका थिए ।
खेलको पहिलो हाफको १९औं मिनेटमा सजिनाले गोल गर्दै सुरुवाती अग्रता दिलाइन । उनले मैदानको मध्यभागको नजिकैबाट प्रहार गरेको बलले मिक्लाजुङका गोल रक्षक उषा थापालाई बिट गर्दै सिधै जाली चुमेको थियो ।
यसैगरी खेलको दोस्रो हाफको नवौं मिनेटमा स्वस्तिकाले गोल गर्दै २–० को सहज जित दिलाइन ।
खेलको प्लेयर अफ द म्याच दिपेन्द्र शिखर इलामकी स्वस्तिका विक घोषित भईन् । उनले नगद पाँच हजार ६९ रुपैयाँ हात पारिन् ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा सञ्चाल भइरहेको १५औं संस्करणको पवित्रहाङमा गोल्ड कप प्रतियोगिता अन्तरगत भोलि आइतबार पथरी शनिश्चरे खेलकुद समिति मोरङ र ताप्लेजुङ जिल्ला फुटबल संघबिच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
महिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवर्द्धनका निम्ति आयोजना गरिएको प्रतियोगिता प्रदेशकै महिला खेलकुद प्रतियोगितामा सर्वाधिक पुरस्कार राशीको गोल्ड कपको रुपमा रहेको अध्यक्ष आङबुहाङले जानकारी दिए ।
प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरु सहभागीता रहेको आयोजक समितिका सचिव सरिता राईले बताइन् ।
सचिव राईका अनुसार प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, रोयल स्पोर्टिङ क्लब दमक झापा, मिक्लाजुङ फुटबल क्लब पाँचथर, ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङ, पथरी शनिश्चरे खेलकुद समिति मोरङ, कन्काई नगरपालिका झापा, दिपेन्द्र सिखर स्पोर्ट्स क्लब इलाम र पाहुना टोलीका रुपमा भारतको दिव्यशक्ति धोत्रे, दर्जिलिङको सहभागीता रहेको छ ।
प्रतियोगिताका विजेताले नगद तीन लाख एक सय ६९ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद दुई लाख एक सय ६९ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचको पुरस्कार रहेको छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ कराँते÷तेक्वान्दो म्याराथुन, म्युजिकल चेयर, हाँडी फुटाउने, गाग्री दौड, फुलमाला दौड, तान बुन्ने, चम्चा दौड, सियोधागो उन्नेलगायतका लगायतका खेलहरु समेत सञ्चालन हुनेछ ।
आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता संचालन भइरहेको छ ।
प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।