१५ जेष्ठ, काठमाण्डौँ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
शनिबार दिउँसो १ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । ‘बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुनेछ’ उहाँले भन्नुभएको छ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले निसान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । आइतबार बसेको कांग्रेसको पदाधिकारी बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएको दोहोर्याएको थियो । तर संविधान संशोधनबारे केन्द्रीय समितिबाट औपचारिक निर्णय गर्ने बताएको थियो ।
प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकमा पनि कांग्रेस केही दिन समय मागेको थियो ।
‘शनिबार केन्द्रीय समिति बैठक बस्दैछ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो, ‘संविधान संशोधनका विषयमा उक्त बैठकमा छलफल हुन्छ ।’
यसअघि जेठ ११ गते बसेको कांग्रेस पदाधिकारी बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकोले ती भू–भागमा नेपालको हक निर्वाध ढंगले स्थापित हुनुपर्ने उल्लेख गरेको थियो ।
पदाधिकारी बैठकपछि जारी विज्ञप्तिमा उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको थियो ।
‘सन् १८१६ को सुगौली सन्धीको ऐतिहासिक तथ्यको जगमा महाकाली पूर्वको लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भू–भाग हुन् र ती भू–भागमा नेपालको हक निर्वाध ढंगले स्थापित हुनु पर्दछ भन्ने नेपाली कांग्रेसले विगतदेखि नै राख्दै आएको प्रष्ट धारणालाई दोहोर्याउँदै पदाधिकारी बैठकले नेपाल सरकारलाई उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्न फेरि पनि माग गर्ने निर्णय गरेको छ,’ पदाधिकारी बैठकको निर्णयमा भनिएको थियो ।
पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक राखेर संविधान संशोधनबारे आवश्यक निर्णय गर्ने बताएको चार दिनपछि आज कांग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको हो ।
जेठ १३ गते भएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकले गरेका निर्णयअनुसार केन्द्रीय समिति बैठकबाट छलफल गरी निर्णय गर्ने बताउनुभएको थियो ।
‘संविधान संशोधनबारे केन्द्रीय समितिबाट निर्णय गर्छाैं,’ सर्वदलीय बैठकमा देउवाले भन्नुभएको थियो, ‘संविधान संशोधनजस्तो विषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जाँदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने हाम्रो धारणा छ ।’
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा संविधान संशोधनको प्रस्ताव टेबुल हुने धेरैको अपेक्षा थियो। तर संसदको कार्यसूचीबाट उक्त प्रस्ताव हटाइयो । लगत्तै कांग्रेसले आफूहरूलाई जोडेर संशोधन प्रस्ताव कार्यसूचीबाट हटाइएको भन्नु निन्दनीय र आपत्तिजनक रहेको बताएको थियो ।