१५ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै उहाँले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वानसमेत गर्नुभएको छ ।
अपार जनसहभागितामा सञ्चालित ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप स्थापित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आए पनि यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण औपचारिक कार्यक्रम आयोजना गर्न कठिनाइ उत्पन्न भएको उल्लेख गर्नुभएको छ । “आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीहरुलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
सदाकाल स्वाधिन राष्ट्रका रुपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्ने तथा राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्याउने पूर्वजहरुको योगदानको स्मरण गर्दै उहाँहरुको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन राष्ट्रपतिले हार्दिक आह्वान गर्नुभएको छ । निकै लामो सङ्क्रमणकालपश्चात राजनीतिक स्थिरता र दिगो शान्ति कायम भएको वर्तमान परिवेसमा नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउन सम्पूर्ण राजनीतिक दलहरु तथा आमजनतामा उहाँले हार्दिक आह्वानसमेत गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नोबल कोरोना भाइरसको सङ्क्रमणमा परी स्वदेश तथा विदेशमा अमूल्य जीवन गुमाउने सवै नेपालीहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । उहाँले सङ्क्रमित विरामीहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ऐतिहासिक दिवसले सबै नेपालीहरुलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने राष्ट्रपति भण्डारीले शुभेच्छा प्रकट गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिद्धारा २३३ कैदीको सजाय मिनाहाः
यसगरी मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ ।
नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी सो जानकारी दिनुभएको हो ।
यसैगरी नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा कपिलदेव साह कानुसमेतका आठ व्यक्तिलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्वलगायतको सजाय माफी भएको विज्ञप्तिमा जनाइएको छ ।