७ जेष्ठ, इलाम । अनेरास्ववियू इलामका केही नेताहरु मिलेर एकलौटी ढंगले संगठनको गतिविधी संञ्चालन गरेको भन्दै अनेरास्ववियू इलामका सह–संयोजक विपिन पोख्रेलले आपत्ती जनाउनुभएको छ । जिल्ला संयोजक र केन्द्रिय सदस्य आपसमा मिलेर आफूलाई कुनै जानकारी नै नगरी संगठनको गतिविधी एकलौटी ढंगले गरेको भन्दै सह–संयोजक पोख्रेलले सामाजिक संञ्जाल मार्फल आपत्ती जनाउनुभएको हो ।
अनेरास्ववियू इलामका संयोजक प्रवेश पराजुली, अनेरास्ववियूका केन्द्रिय सदस्य रविन्द्र सुवेदी लगायत केही विद्यार्थी नेताहरुको उपस्थितीमा अनेरास्ववियू इलामको नाममा आज एक विज्ञप्ती जारी भएको थियो । सो विज्ञप्ती भारतीय विस्तारवादको विरुद्धमा नरेन्द्र मोदीलाई सम्वोधन गरेर लेखिएको थियो ।
सह–संयोजक पोख्रेलले आफूलाई यो विज्ञप्ति सार्वजनिक गर्ने बारे कुनै जानकारी नआएको बताउनुभएको छ । उहाँले फेसवुकमा लेख्नुभएको छ–“अनेरास्ववियू इलामको नाममा गरेको गतिबिधि संगठनमा छलफल र निर्णय नभई एकलौटी रुपमा फेसबुकबाजि गरेको कार्य प्रति मेरो गम्भीर आपत्ति र ध्यानाकर्षण रहेको छ । संगठन एकता भइसकेको परिस्थिति स्वयम् केन्द्रीय सदस्यले पनि अनुभुत नगरेको मेरो बुझाइ छ । राष्ट्रियताको सवालमा मेरो र हामी सबैको सम्मान सदैव आफ्नो प्राण भन्दा प्यारो छ । संगठनको नाममा गरिने गतिविधि विना छलफल हुनाले संगठनमा अराजकता बढ्ने, अनुसाशन भड्किने र एकता बिरुद्धमा रहन्छ । पुर्व समुह वा गुटगत मनस्थितिले संगठनको हितमा काम गर्न कदापि सक्दैन ।”
संयोजक पराजुली तत्कालिन अनेरास्ववियुका तर्फबाट हुन् भने सह–संयोजक पोख्रेल अखिल क्रान्तिकारीका तर्फबाट हुन् । तत्कालिन क्रान्तिकारी तर्फका विद्यार्थी नेताहरुले विज्ञप्ति सार्वजनिक गर्ने जानकारी नआएको गुनासो गरिरहदा तत्कालिन अनेरास्ववियुकै केही जिल्ला नेताहरुले पनि केही जानकारी नआएको भन्दै गुनासो गरेका छन् ।