७ जेष्ठ, काठमाण्डौँ । मन्त्रिपरिषद्ले पारित गरेको नेपालको नयाँ राजनीतिक नक्सा आज मुख्य सचिव लोकदर्शन रेग्मीले प्रमाणिकरण गर्नुभएको छ । ७ प्रदेश ७७ जिल्ला, ७५३ स्थानीय तह तथा यस अघि छुटेको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा आजै सार्वजनिक हुने बताइएको छ ।
प्रमाणित नयाँ नक्सा बुधबार भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गर्ने तयारी गरेको र सो नक्सामा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्ग किलोमिटर कायम गरिएको बताइएको छ ।
यसअघिको नक्सामा नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर छ ।
यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पनि सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा आज सार्वजनिक गर्नुभएको छ ।
मन्त्रिपरिषदबाट सोमबार पारित भएको उक्त नक्सा अहिले केही समयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सार्वजनिक गर्ने कार्यक्रम उहाँको सचिवालयले जानकारी गराएको छ ।
नक्सा सार्वजनिक गर्ने उक्त कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।
अहिले केही समय पछि २ः१५ बजे नक्सा सार्वजनिक गर्ने मन्त्रालयको भनाइ छ ।