६ जेष्ठ, काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले लिम्पियाधुरासम्म समेटिएको नेपालको नक्सा छिट्टै जारी हुने बताउनुभएको छ ।
आज संञचारकर्मी संग कुराकानी गर्दै मन्त्री अर्यालले मन्त्रालयले नक्सा तयार पारिसकेकाले उचित समय मिलाएर सार्वजनिक हुने बताउनुभयो ।
‘लिम्पयाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अध्यावधिक राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नक्सा सार्वजनिक गर्ने तयारीमा छौ,’ मन्त्री अर्यालले भन्नुभयो, ‘नक्सा सार्वजनिक नगर्दासम्म धैर्य रही सामाजिक सञ्जालमा त्रुटीपूर्ण नक्सा प्रयोग नगर्न म सबैसँग अनुरोध गर्दछु ।’
मन्त्रिपरिषद्ले नक्सा पारित गरेसँगै अब यसलाई कूटनीतिक माध्यमबाट वार्ता गरेर समस्याको समाधान गरिने उहाँले बताउनुभयो । संविधानको अनुसूचीमा लिम्पियाधुरासम्म नरहेकाले यसलाई परिवर्तन गर्ने सरकारको तयारी छ ।
‘संविधान संशोधन गरेर अनुसूचीमा रहेको निसान छाप परिवर्तन गर्नुपर्छ,’ मन्त्री अर्यालले भन्नुभयो ।
नेपालले नयाँ राजनितिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ । अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ । अबको नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने भूमि व्यवस्था मन्त्रालय स्रोतले बतायो ।
यता खाडीका देश र मलेसियामा लाखौं रहेका लाखौँ नेपाली स्वदेश फर्कने तउारी भईरहेका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताउनुभएको छ । आज संञ्चारकर्मी संग कुरा गर्दे उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘विश्वव्यापी कोरोना महामारीको सङ्क्रमणसँगै धेरै नेपालीहरु अप्ठ्यारोमा परेकोबारेमा हामीलाई जानकारी छ । अहिले हामी विभिन्न दूतावासहरुसँग मिलेर सबैभन्दा धेरै समस्यामा रहनुभएकाहरुको नामावली संकलन गरेर उहाँहरुलाई वर्गीकरण गरिरहेका छौं । त्यसको लागि मापदण्ड बनाइरहेका छौं । झण्डै ४० लाखको सङ्ख्यामा रहेका नेपालीमध्ये सबैलाई अहिले ल्याउन सकिन्न । समस्यामा परेका र अत्यधिक अप्ठ्यारोमा परेकाहरुलाई नै प्राथमिकतामा राखेर ल्याउने हो ।’
उहाँले थप्नुभयो, ‘त्यही भएर हामीले सम्बन्धित देशको सरकार र त्यहाँको दूतावाससँग पनि समन्वय गरिरहेका छौं । हामीले पहिलो चरणमा विभिन्न देशमा अवैधानिक तरिकाले बसिरहेका र सम्बन्धित देशको आममाफी प्रक्रियामा समावेश भएर आममाफी पाएकाहरुलाई पहिलो प्राथमिकतामा राख्छौं । यस्तै रोजगारी गुमाएकाहरु, पहिले नै करार अवधि सकिएर फर्किने तयारी गरिरहेका भिसाको अवधि सकिएकाहरु प्राथमिकतामा पर्नुहुन्छ । यस्तै कतिपय अवस्थामा महिलाहरु गर्भवती हुनुहुन्छ, उहाँहरु पनि प्राथमिकतामा पर्नुभएको छ । कोरोना बाहेक अन्य रोग लागेकाहरु र छोटो समय भिजिट भिसामा जानुभएकाहरुलाई पनि फर्काउनुपर्ने भएको छ । हामी त्यसको तयारीमा छौैं ।’