६ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई ‘सिंहमेव जयते’ कि ‘सत्यमेव जयते’ भनेर प्रश्न गर्नुभएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको आज जवाफ दिदैँ प्रधानमन्त्री ओलीले भारतद्वारा अतिक्रमित नेपाली भूभाग फिर्ता लिइने दृढता प्रकट गर्नुका साथै आफूले भारतलाई उक्त प्रश्न गर्ने जानकारी गराउनुभयो ।
उहाँले भारतको प्रतीक चिह्न चारमुखे सिंहमा ‘सत्यमेव जयते’ लेखिएकाले भारतले ‘सिहंमेव जयते’ को व्यवहार नगर्ने विश्वास नेपाल र नेपालीको रहेको बताउनुभएको छ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्बाट स्वीकृत भएको सदनलाई जानकारी दिँदै उहाँले नेपाली भूमिमा भारतले बाटो निर्माण गरेपछि सरकारले उक्त भूमि आफ्नो नक्सामा समावेश गर्ने निर्णय गरेको बताउनुभयो । साथै, नेपालको मानचित्रमा भएको परिवर्तन भोलिसम्ममा सार्वजनिक गरिने पनि उहाँले बताउनुभयो ।
संविधानको अनुसूचीमा उल्लिखित नक्सा संशोधनका लागि सदनमा संशोधन प्रस्ताव प्रस्तुत गरिने र त्यसलाई सदनले पारित गर्नेमा आफू ढुक्क रहेको प्रधानमन्त्रीले बताउनुभयो । विसं २०१८ सम्म तिरो उठाउने गरेको र जनगणना गरेको स्पष्ट हुँदाहुँदै नेपालको भूमि हडपिएकाले त्यो जसरी पनि फिर्ता लिइने प्रतिबद्धता उनले व्यक्त गर्नुभयो ।
विगतका शासकहरूले भारतले हडपेको जमिनबारे मौन रहे पनि वर्तमान सरकारले सही निर्णय गरेको बताउँदै उहाँले भन्नुभयो, “१९६२ मा भारतीय सेना कालापानीमा बसेपछि, त्यसबेलाका शासकहरूले सहे,’ उहाँले भन्नुभयो,“अब यो ओझेल पर्नेछैन, सेलाउन दिइनेछैन । निष्कर्ष निकालिनेछ । अतिक्रमण गरिएको जमिन फिर्ता लिइनेछ ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी जस्केलाबाट छिराउन खोजेको भन्ने भनाईलाई खण्डन गर्नुभएको छ । नीति तथा कार्यक्रममा परेको रातमाटे, दमौली, हेटौडा, बुटवल ट्रान्समिसनलाई निर्माण गर्ने योजना अघि सारेपछि सत्तारुढ दलकै नेताहरुले एमसीसीलाई नीति तथा कार्यक्रममा जस्केलाबाट छिराएको भन्दै आपत्ति जनाएका थिए । तर प्रधानमन्त्रीले त्यसको जवाफ दिदै प्राविधिक र विज्ञहरुले दिएको सुझावका आधारमा रातमाटे, दमौली बुटवल ट्रान्समिसन विस्तारको योजना अघि सारको बताउनुभयो ।
उक्त योजनामा आशंका नगर्न सुझाव दिँदै प्रधानमन्त्री ओलीले विद्युत उत्पादन गरेपछि प्रयोग गर्नका लागि योजना ल्याइएको प्रस्टिकरण दिनुभयो । उहाँले जस्केलाबाट नभई मुलढोकाबाटै आएको भन्दै एमसीसीले नबनाए अरुले बनाउने जवाफ दिनुभयो ।
जलश्रोतको धनी देश भन्ने, विद्युत उत्पादन डोकामा बोकेर लैजान नसकिने बताउनुभयो । उहाँले एमसीसी अघिल्लो सरकारले सम्झौता गरेको र अभिछिन्न उत्तराधिकारवाला सरकारले अघिल्लो सरकारको सम्झौता भनेर अलपत्र छोड्न नसक्ने बताउनुभयो । सम्झौता गर्नेवेलामा राष्ट्रिय हितका सवालमा होसियार हुनुपर्ने प्रधानमन्त्रीको भनाई छ । दलहरुमा भिन्नता हुनसक्ने र छलफल गर्न सकिन्छ भन्दै एमसीसी पास गर्ने कुरा सदनको अधिकार र निर्णयको कुरा भएको प्रधानमन्त्रीको भनाई छ ।
उहाँले एमसीसी संसदको सम्पत्तिका रुपमा आएको बताउनुभयो । उहाँले एमसीसी पास नभएपनि रातमाटे, दमौली, हेटौडा बुटवल ट्रान्समिसन लाइन पेट काटेर भएपनि बनाउने बताउनुभयो । उहाँले केही समयमा कोरोना पनि नियन्त्रण गरी र विकसित राष्ट्र बनाउने योजना सरकारको रहेको जवाफ दिनुभयो ।