४ जेष्ठ, काठमाण्डौँ । सत्तारुढ दल नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले ल्याएको नीति तथा कार्यक्रमको एकदेखि २७६ बुँदा नै काम नलाग्ने भनेर भएको टिप्पणीलाई ‘फूलको आँखामा फूलै संसार र काँडाको आखाँमा काँडै संसार’ भन्ने गीतसँग तुलना गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।
आइतबार(आज) नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा काँग्रेस नेता डा. मिनेन्द्र रिजालले सरकारले ल्याएको नीति तथा कार्यक्रमको १ देखि २७६ सम्मका बुँदा काम नलाग्ने भएको टिप्पणी गर्नुभएको थियो । त्यस्तै कँग्रेस सभापति शेरबहादुर देउवाले पनि नीति तथा कार्यक्रमले कोरोनापछिको अवस्थालाई संवोधन गर्न नसक्ने भएको बताउनुभएको थियो ।
‘यो सरकारलाई कोभिड १९ ले गरेको र गर्न सक्ने क्षति बारे ज्ञान नै छैन । दोस्रो, सरकारलाई जनताको दुखः प्रति कुनै वेदना छैन र जनताको पीडा बुझ्न सक्ने हृदय छैन । तेश्रो, सरकारसंग यो अप्ठेरो बेला भविष्यकालागि जनता आश्वस्त हुने कुनै योजना छैन । एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यवाट बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पनाजस्तो देखिन्छ । यो नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पूर्णतः असफल भएको छ ।’ देउवाल भन्नुभएको थियो ।
देउवाको यो भनाइप्रतिपनि नेम्वाङले आपत्ति जनाउनुभएको थियो । उहाले आफू २०४८ सालदेखि संसदमा लगातार उपस्थिति जनाएको भन्दै के यस पटकको सरकारले त्यस्तै काम नलाग्ने कार्यक्रम ल्याएछ त भनेर पुन हेर्नुपरेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम परम्परागत र उही कुरा आए भनेको भनाइप्रति आफूलाई पनि अचम्म लागेको बताउनुभयो ।
उहाँले भन्नुभयोः ‘म अन्यथा मान्दिनँ, हामीले सवै कुरा सुन्नुपर्छ प्रतिपक्षको, आलोचना त झन राम्ररी सुन्नुपर्छ । तर यो त अलि भएन कि ? एकजना मित्रले यो त ब्याङ्क्रफ्ट खोखला भन्नुभो । मैले कान थापेर सुने पनि यही हो त भनेर ? प्रतिपक्षका नेताले लिपुलेकसम्बन्धी नक्सा निकाल्ने कुरा सकारात्मक नै छ भन्नुभएको पनि आफ्नै कानले सुनेँ । फेरि एकछिनपछि त कुनै कामै लाग्ने छैन भन्ने आयो ।’
नेता नेक्वाङले भन्नुभएको छ–“यो ठाउँसम्म आईपुग्दा हामीले गर्वका साथ भनेका छौं यो देशमा शान्ति र प्रजातन्त्रको लागि फेरि आन्दोलन गर्नुपर्दैन् । यो नीति तथा कार्यक्रमले त्यो शान्तिप प्रक्रियालाई चाँडै टुँगोमा पुर्याउने कुरा गरेको छ । जनतालाई हामीले सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । हामीले यति राम्रो काम गरेका छौं भनेर भन्नुपर्छ । होईन भने जनतामा निराशा पैदा हुन्छ । त्यस्तो हुन दिनुहुँदन् ।”