शनिबारदेखि लागू हुनेगरी सवारीसाधन सञ्चालनका सबै पास रद्ध, उपत्यकाको लकडाउनमा कडाई

शनिबारदेखि लागू हुनेगरी सवारीसाधन सञ्चालनका सबै पास रद्ध, उपत्यकाको लकडाउनमा कडाई

१ जेष्ठ, काठमाण्डौँ । सरकारले शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ ।

आज बिहीबारदेखि एक जिल्लाबाट अर्काे जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएकोमा शनिबारदेखि भने जिल्लाभित्रै पनि पासलाई मान्यता नदिने गरी रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले गृहखबरलाई जानकारी दिएको छ ।

कारोनाभाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने नीति अनुरुप सो निर्णय गरेको छ । यो निर्णय देशभर नै लागू गर्नेगरी गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरिसकेको छ ।

पछिल्लो समय पासको दुरुपयोग गर्दै मानिसहरुको अनावश्यक रुपमा आउजाउ हुने र भिडभाड हुने गरेको गुनासो बढेका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत नाकामा कडाइ गर्नुका साथै लकडाउन खुकुलो नबनाउन यसअघिको मन्त्रिपरिषद् बैठकमा निर्देशन दिनुभएको थियो ।

पछिल्लो समय कोभिड–१९ का संक्रमितहरुको संख्या बढेका कारण पनि सरकारले लकडाउनलाई थप कडाई गर्ने भएको हो ।

यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले काठमाडौं उपत्यकामा सबै नगरपालिकाका मेयरहरु, तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर काठमाडौंमा लकडाउनलाई कडा बनाउन निर्देशन दिनुभएको छ ।

छलफलमा महानगरीय प्रहरी आयुक्त कार्यालयका डिआईजी विश्वराज पोखरेल र महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकाल समेत सहभागी हुनुभएको थियो । एसएसपी ढकालकाअनुसार अब लकडाउन कडाई गर्न र अत्यावश्यक सवारी साधानलाई पनि चेकजाँच गरेर छोड्न गृहमन्त्रीबाट आदेश जारी भएको छ ।

गृहमन्त्री थापाले काठमाडौं उपत्यका भित्रिने कुनैपनि नाकाबाट सवारी तथा मानिसहरुलाई आउन नदिन पनि निर्देशन दिएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर