२९ वैशाख, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले २ सय वर्षदेखि नेपालको नक्सामा लिम्पियाधुरा छैन भनेर अनावश्यक अभिव्यक्ति दिएको बताउनुभएको छ ।
उहाँले मन्त्री अर्याललाई त्यस्तो नबोल्न सचेत गराउँदै माफी माग्न समेत सुझाव दिनुभएको छ ।
आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले भन्नुभयो, ‘सरकारलाई विवादित बनाउने काम नगर्नुस्, तत्काल माफी मागिहाल्नुस् । शिक्षा मन्त्रालयले पनि आफ्ना सम्पूर्ण पाठ्यक्रममा नेपालको सम्पूर्ण भूभाग भएको नक्सा प्रकाशन गर्नु पर्याे ।’
उहाँले तत्काल सम्पूर्ण भूभाग समेटिएको नेपालको नक्सा प्रकाशन गर्न आग्रह पनि गर्नुभयो । नेता नेपालले आवश्यक परे सिमानामा काडेतार लगाउन समेत जोड दिनुभएको छ ।
उहाँले कोरोनाभाइरसको महामारीको अवस्थामा समेत भारतले नेपाली भूमिमा सडक बनाएको विषय बनाउनु गलत भएको र यही कारणले भारतविरोधी भावना बढेको स्पष्ट पार्नुभएको छ । उहाँले भारतले नेपालको भू–भागमा सडक निर्माण गर्नु दुःखद् भएको उल्लेख गर्दै आपत्ति जनाउनुभएको छ ।
‘मित्रराष्ट्रसँगको सम्बन्ध सुमधुर बनाउनु पर्नेमा किन अविश्वास बढाउँदै जाने किन यस्तो स्थिति भैरहेको छ । भिडिओ कन्फरेन्सको माध्यमबाट कुराकानी गर्नुर्पयो, नेपालीहरु आक्रोशित पनि छन । भावना भड्किएको छ । देशभक्तिको भावना बढीरहेको छ। भारत विरोधी भावना पनि बढिरहेको छ । त्यसो भएको हुनाले कोरोना भाइरसको प्रकोपमा नाममा कुराकानीको समय पन्छाउने काम छैन ।’उहाँले भन्नुभयो
भारतलाई नेपालले दार्चुलाको विवादित भूमिमा कुनै पनि विकास निर्माणको काम नगर्न आग्रह गर्नुपर्ने पनि उहाँले सुझाव दिनुभएको छ ।