
२३ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थायी कमिटीको बैठकमा उत्पन्न हुने विरोधका स्वरलाई निस्तेज पार्ने कसरत तीव्र पार्नुभएको छ ।
पार्टीका बहुमत स्थायी कमिटी सदस्यको दबाबमा बस्न थालेको बैठकमा आफ्नो तीव्र आलोचना हुने र राजीनामाका लागि समेत दबाब आउन सक्ने आँकलन गर्दै ओलीले विरोधलाई मथ्थर पार्ने प्रयास गरिरहनुभएको हो ।
स्थायी कमिटीमा राजीनामा मागेर अप्ठेरो पार्नुअघि नै शीर्ष तहमा समझदारी कायम गर्न प्रधानमन्त्रीको कसरले तीव्रता पाएको छ ।
पछिल्लो पटक अध्यादेश प्रकरणपछि चर्केको विवाद सरकार ढल्ने स्थितिमा पुगेको थियो । तर त्यसलाई रणनीतिक चालबाजीका साथ साम्य पार्न सफल प्रधानमन्त्री ओलीलाई स्थायी कमिटि बैठकमा उठ्ने विरोधको सामना गर्न भने त्यति सजिलो अवस्था छैन ।
किनभने स्थायी कमिटी बैठकमा ओलीको राजीनामा माग्ने तयारी नेताहरुले गरिरहेका छन् । यही कारण पार्टी अध्यक्ष ओलीले शीर्ष नेताहरुसँग स्थायी कमिटीका एजेण्डाहरुबारे आज दिनभर जसो परामर्ष गर्नुभयो । ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि छुट्टाछुट्टै परामर्ष गर्नुभयो ।
प्रधानमन्त्री ओलीसंग भेट गरिसकेपछि नेता खनालले उहाँ आज तनावमा र गम्भिर मुद्रामा देखिएको जानकारी दिनुभएको छ । उहाँले भेटवार्ताबारे भन्नुभएको छ, ‘प्रधानमन्त्रीजी आज तनावमा र अलिक बढि नै सिरियश देखिनुहुन्थ्यो ।’
आफूले भेटवार्तामा पार्टीको निर्देशन र विधिलाई मानेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएको पनि खनालले सुनाउनुभयो । उहाँले थप्नुभयो, ‘मैले त उहाँलाई पार्टीको निर्णय मान्नुहोस् । पार्टीलाई एकताबद्ध र बलियो बनाउने काममा लाग्नुहोस् । संगठित बनाउने कामममा लाग्नुहोस् । यसले तपाईलाई फाईदा हुन्छ । सरकारलाई पनि प्रभावकारी बनाउने काम गर्नुहोस भनेर आग्ह गरें । यसमा नै तपाईको उच्च सम्मान हुन्छ ।’
त्यस्तै, आफूले पार्टीको निर्णय एक व्यक्ति, एक पद मानेर जानको लागि ओलीसँग आग्रह गरेको पनि बताउनुभएको छ । ‘पार्टीको हितको लागि काम गर्नुहोस भनेको छु । जे मापदण्ड बनाउँछ त्यसलाई आत्मासात गर्नुहोस भनेको छु । उहाँले पार्टीको नीतिलाई आत्मसात गर्नुपर्छ । तर, प्रधानमन्त्री ओलीले एक व्यक्ति, एक पदको बारेमा कुरा गर्दा कुनै प्रतिक्रिया दिनुभएन ।’ नेता खनालले भन्नुभयो, ‘उहाँ के कारणले तनावमा हुनुहुन्थ्यो मलाई थाहा भएन । तर, मैले चाहीँ उहाँलाई पार्टीको निर्णय मानेर जाँदा सबैको हित हुन्छ भनेको छु । राम्रो वार्तालाप भएको छ ।’


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७