
२३ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग पालैपालो भेटवार्ता र छलफल गर्नुभएको छ । स्थायी समिति बैठकको पूर्व सन्ध्यामा ओलीले आजमात्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता र छलफल गर्नुभएको हो ।
आज बिहान प्रचण्ड र नेपालसँग भेटवार्ता गर्नुभएका ओलीले लगत्तै अर्का नेता खनालसँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् । नेताहरुसँगको छलफलमा ओलीले पार्टीभित्र देखिएको समस्या र विकसित घटनाक्रमबारे छलफल गर्नुभएको थियो । अध्यादेश प्रकरणपछि ओलीको राजीनामा माग्ने मध्येमा नेता खनाल पनि हुनुहुन्छ ।
यसअघि आज विहान अर्को कार्यकारी अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपालसंग प्रधानमन्त्री ओलीले छलफल गर्नुभएको थियो ।
भोलि साँझ सचिवालयको बैठक बस्दैछ । सचिवालयको बैठकबाटै स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न शिर्ष तिन नेता छलफलमा जुटेका थिए । स्थायी कमिटीको बैठक यही पर्सी बिहीबार विहान ११ बजे बस्दैछ । उक्त बैठकमा ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने आवाज उठाउने नेता नेपाल समूहका नेताहरुले तयारी गरेका छन् ।
सचिवालय बैठकमा आत्माआलोचना गरेरमात्रै नहुने भन्दै नेता नेपाल समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले आफूहरुले स्थायी कमिटीमा यो विषय जोडदार रुपमा उठाउने जनाईसक्नुभएको छ । उहाँले पार्टीलाई एक व्यक्ति, एक पदमा लैजानुपर्ने पनि बताउनुभएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७