
२२ वैशाख, काठमाण्डौँ । महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका सशस्त्र र नेपाल प्रहरीलाई सीमाको सुरक्षामा खटाइने भएको छ । कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाउन लागिएको हो ।
आईतवार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा गृह मन्त्रालयमा बसेको सुरक्षा बैठकमा यससम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । कोभिड–१९ ले निम्ताएको समस्या निराकरणका लागि सीमा क्षेत्रमा थप कडाइ गर्ने उद्देश्यले सो निर्णय गरिएको हो ।
बैठकले सीमाबाट लुकिछिपी प्रवेश गर्ने क्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानूनी कारवाही गर्नुपर्ने निश्कर्षसमेत निकालेको छ । बैठकले भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफललाई तीव्रता दिने निर्णय पनि गरेको छ ।
निर्वाचनको समयमा यस्ता संरचनाको सुरक्षामा खटिएका प्रहरी र सशस्त्रलाई झिकेर अस्थायी रुपमा सेनालाई खटाइने गरिएको थियो । सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई गृहमन्त्री थापाले निर्देशनसमेत दिनुभएको छ । कति जनशक्ति सीमा पठाउने भन्नेबारे २ दिनभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुले गृहमा विवरण पठाउनेछन् ।
गृहमन्त्री बादलले सिमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गरिने बताउनुभएको छ । गृहको यो निर्णयसँगै देशभरका कारागार, विभिन्न राजदूतावास, नेपालस्ठित अन्य कूटनीतिक नियोग, विशिष्ट व्यक्तिहरु बस्ने निवास तथा कार्यालयलगायत संरचनाको सुरक्षामा अर्काे व्यवस्था नभएसम्मका लागि नेपाली सेनाको जनशक्ति खटाइनेछ ।
लकडाउन घोषणापछि सशस्त्र प्रहरीले भारतीय सीमातर्फ १२ सय १३ वटा अस्थायी चेक प्वाइन्ट खडा गरेर करिब २२ हजार जनशक्ति परिचालन गरेको छ । यस्तै सीमामा नेपाल प्रहरीका ४ सय ५० वटा सीमा चौकी र अन्य अस्थायी संरचना गरी ७ हजारभन्दा बढी जनशक्ति खटिएका छन् ।
बैठकमा गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथि प्रभुराम शर्मालगायतको उपस्थिति रहेको थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७